बागलुङका पत्रकार र सञ्चार उद्यमीहरुको हस्ताक्षर संकलन गरी प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन वितरणमा रोक लगाउने सरकारी निर्णय फिर्ता लिनुपर्ने मागसहित देशभर सञ्चालन भइरहेको दबाब अभियानअन्तर्गत नेपाल पत्रकार महासंघ बागलुङ शाखाले संकलन गरेको हस्ताक्षर सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको आह्वानमा सञ्चालन भइरहेको देशव्यापी अभियानको रूपमा बागलुङ शाखाले संकलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई पठाइएको हो ।
महासंघ बागलुङका अध्यक्ष राम थापा नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई हस्ताक्षर सहितको फ्लेक्स बुझाएको थियो । सो क्रममा पत्रकारहरूले सरकारी निर्णयले प्रेस स्वतन्त्रता, सञ्चारको बहुलता र सूचना पहुँचमा प्रत्यक्ष असर पार्ने भन्दै तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका थिए ।
हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले प्राप्त ज्ञापन तथा संकलित हस्ताक्षर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र पठाइने प्रतिबद्धता जनाएका छन् ।
महासंघले सरकारी विज्ञापन वितरण प्रणालीमा सबै सञ्चारमाध्यमलाई समान अवसर सुनिश्चित गर्नुपर्ने अडान राख्दै आएको छ । सरकारी सञ्चारमाध्यमलाई मात्र प्राथमिकता दिइने हालको नीतिले निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने र सञ्चार क्षेत्रमै असन्तुलन सिर्जना गर्ने खतरा रहेको महासंघको दाबी छ ।
महासंघका अनुसार सरकारी विज्ञापन राज्यको सूचना प्रवाहसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको वितरण निष्पक्ष, पारदर्शी र सबै माध्यमका लागि समान हुनुपर्छ । सरकारी खर्च कटौती वा व्यवस्थापन सुधारको बहानामा निजी सञ्चारमाध्यमलाई विज्ञापनबाट वञ्चित गर्नु लोकतान्त्रिक अभ्यासविपरीत हुने चेतावनीसमेत महासंघले दिएको छ ।
महासंघ बागलुङका अध्यक्ष राम थापाले सरकारी विज्ञापनसम्बन्धी निर्णयले सञ्चार क्षेत्रमा विभेद बढाएको भन्दै हस्ताक्षर संकलन गरिएको थियो ।
पत्रकार महासंघले संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायबाट वितरण हुने विज्ञापनमा समान पहुँच सुनिश्चित गर्नुपर्ने माग अघि सारेको छ । साथै हालको निर्णय तत्काल फिर्ता नलिए थप आन्दोलनका कार्यक्रम घोषणा हुन सक्ने संकेत पनि महासंघले दिएको छ । देशभरका पत्रकारहरूको एकीकृत दबाबमार्फत सरकारलाई नीतिगत पुनर्विचार गराउन अभियान अघि बढाइएको महासंघले जनाएको छ ।


