गुल्मी, साउन १९ – चन्द्रकोट गाउँपालिका–१ सराङस्थित दिब्रुङ स्वास्थ्य चौकीमा सोमबार बिहान गएको पहिरोले सुत्केरी स्याहार कक्षमा ठूलो क्षति पुर्याएको छ।
बिहान करिब साढे ३ बजेतिर गएको पहिरोले भवनको पछाडिको भाग भत्किँदा कक्ष पूर्णरूपमा क्षति भएको हो। यद्यपि मानवीय क्षति भने भएको छैन। पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रकोटले जनाएको छ।
जिल्ला प्रहरी नायब उपरीक्षक डीएसपी गंगा बहादुर सारुका अनुसार पहिरोका कारण सेवा प्रवाहमा समस्या आउन सक्ने देखिएको छ।


