ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले ४९ हजार रुपैयाँको खसी पकाउन ५८ हजार १०५ रुपैयाँको मसला प्रयोग गरेको खुलासा भएपछि पालिकाको खर्चमा देखिएको अनियमितता सार्वजनिक चासोको विषय बनेको छ। महालेखा परीक्षकको प्रतिवेदनमा समेटिएको यो विवरणले जनप्रतिनिधिहरूको नाममा हुने भोजभतेरका कार्यक्रमहरूमा अत्यधिक खर्च भएको देखाएको छ।
गाउँपालिकाले खसीको मासु पकाउन मसला मात्रै नभई काजु, बदाम, चिया, चिनी जस्ता सामग्री किन्न समेत एक लाख १७ हजार ८५४ रुपैयाँ खर्च गरेको देखिन्छ। यो सामग्री खसी खरिदभन्दा एक दिनअघि एलिना एलिसा किराना पसलबाट किनिएको उल्लेख छ। मसला भने ‘दोर्जे नाम्गेल होटल’ बाट खरिद गरिएको हो।
आर्थिक वर्ष २०८०/८१ मा सुनकोशी गाउँपालिकाले करिब ९७ लाख रुपैयाँ इन्धन, भ्रमण, मर्मत, खाना र कार्यालय सञ्चालनमा खर्च गरेको विवरण पनि प्रतिवेदनमा उल्लेख छ। भ्रमण शीर्षकमा खर्च भएको २२ लाख रुपैयाँको प्रयोजन स्पष्ट नभएको र त्यससम्बन्धी आवश्यक कागजातसमेत नपाइएको महालेखाको निष्कर्ष छ।
यस घटनाले गाउँपालिकाको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले भने खर्च विवरणमा अन्य शीर्षकका सामग्री पनि समेटिएको हुन सक्ने दाबी गरेका छन्। तर सार्वजनिक गरिएको खर्च विवरण अपारदर्शी भएको भन्दै आलोचना बढेको छ।
घटनापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैले प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिको नेतृत्वमा रहेको स्थानीय सरकार शक्ति केन्द्रित, गैरजवाफदेही र अपारदर्शी भएको आरोप लगाएका छन्। पालिकाको खर्च प्रणाली र जनतामाथिको जवाफदेहिता सुनिश्चित गर्न नागरिक समाज, संचार माध्यम र स्थानीय राजनीतिक दलहरूबाट दवाव थपिदै गएको छ।
यसअघि पनि आव २०७९/८० मा गाउँपालिकाले भ्रमण भत्ता शीर्षकमा ४० लाख ५७ हजार रुपैयाँ खर्च गरेको विवरण महालेखा परीक्षकको प्रतिवेदनमा सार्वजनिक भइसकेको छ। पछिल्ला घटनाक्रमहरूले जनताका करका पैसाको सही सदुपयोग नहुँदै आएको तर्फ संकेत गरेका छन्।


