
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले नेपालमा पुनः लोडसेडिङ हुने सम्भावनाबारे चर्चा गर्नु अब निरर्थक भएको बताएका छन्। बुधबार प्रतिनिधिसभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै उनले देशभर स्थिर र निरन्तर विद्युत आपूर्ति भइरहेकाले लोडसेडिङ विगतको विषय बनेको स्पष्ट पारे।
मन्त्री खड्काका अनुसार, उनले मन्त्रालयको नेतृत्व सम्हालेको समयमा नेपालमा कुल जडित विद्युत क्षमता ३,२०० मेगावाट थियो, जुन हाल एक वर्षभित्र बढेर ३,९०० मेगावाट पुगेको छ। प्रतिव्यक्ति विद्युत खपत पनि ४६० युनिटमा पुगेको उल्लेख गर्दै उनले अहिले देशको अधिकतम माग २,४०० मेगावाट रहेको जानकारी दिए।
उनका अनुसार वर्षायाममा उत्पादन मागभन्दा बढी हुने भएकाले अतिरिक्त विद्युत भारत र बंगलादेशमा निर्यात भइरहेको छ। अहिले ९०० मेगावाट भारतमा पठाइँदैछ भने भारतको ग्रिडमार्फत बंगलादेशमा ४० मेगावाट आपूर्ति भइरहेको छ। हालसम्म १,२०० मेगावाटसम्म भारतमा पठाउन अनुमति मिलेको छ।
गत आर्थिक वर्षमा मात्र नेपालले २,३८० मेगावाट विद्युत भारतमा र ३० मेगावाट आवर बंगलादेशमा बिक्री गरेको मन्त्री खड्काले बताए। यसबाट १७ अर्ब ७२ करोड रुपैयाँ आम्दानी भएको र विद्युत आयातमा खर्च भएको १२ अर्ब ९२ करोड कटाएर करिब ५ अर्ब रुपैयाँ नाफा भएको दाबी उनले गरे।
उनले अझै विद्युत नपुगेका स्थानमा सेवा विस्तारका लागि उत्पादन र वितरण दुवै क्षेत्रमा सुधार भइरहेको उल्लेख गरे। “लोडसेडिङको कल्पना गर्नु नै अब व्यर्थ छ,” मन्त्री खड्काले भने, “प्राविधिक समस्या देखिएका स्थानमा पनि समाधानका उपाय अवलम्बन भइरहेको छ।”


