कास्की — जेनजी आन्दोलनकारीले मंगलबार साँझ कास्की कारागार तोडफोड गरी कैदीबन्दीलाई भगाएको छ।
प्रहरीका अनुसार जेनजी प्रदर्शनकारीले सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्दै कारागार परिसरमा प्रवेश गरेका थिए। आन्दोलनकारीले कारागार सुरक्षामा खटिएका केही प्रहरीलाई कुटपिट गरेपछि कैदीबन्दीले आफैं ब्लक तोडेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६ जना, ब्लक ‘बी’ मा ४८० जना र महिला ब्लकमा ३५ जना कैदीबन्दी रहेका छन्। कारागार तोडफोडपछि ठ्याक्कै कति कैदीबन्दी भागेका छन् भन्ने विवरण भने सार्वजनिक भएको छैन।
उक्त घटनापछि प्रहरीले पोखरा र वरपरको क्षेत्र उच्च सतर्कतामा राख्दै सुरक्षा कडा पारेको छ।


