ताराखोला गाउँपालिका–१ अन्तर्गत गाईघाट झरना नजिकै जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
ताराखोलाबाट गलकोट नगरपालिका–५ सर्दाखेततर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको जीप गाईघाट नजिकै सडकबाट करिब २० मिटर तल खोलामा खसेको हो।
दुर्घटनामा परी गलकोट–५ सर्दाखेतका करिब २४ वर्षीय दिनेश थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ। त्यस्तै, सोही वडाका २४ वर्षीय मिलन परियार, ४३ वर्षीय बिरवल परियार र २६ वर्षीय दिनेश थापा घाइते भएका छन्।
घाइतेमध्ये २६ वर्षीय दिनेश थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बिरवल परियारलाई थप उपचारका लागि पोखरा मणिपाल अस्पतालमा रिफर गरिएको छ भने अन्य घाइतेहरूको उपचार गलकोट नगर अस्पतालमा भइरहेको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।


