असोज महिनाको तुलनामा कात्तिक महिनामा वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.२६३ प्रतिशत विन्दुले घटेर ५.२००५ प्रतिशतमा पुगेको हो। असोजमा यो दर ५.४६३५ प्रतिशत थियो।
व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६ प्रतिशत कायम गरिएको छ। ग्लोबल आईएमई र हिमालयन बैंकले ६ प्रतिशत ब्याजदर कायम राखेका छन्।
असोजको तुलनामा १४ बैंकले ब्याजदर घटाएका छन्। ती बैंकहरूमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, एनआईसी एशिया, प्रभु, स्टान्डर्ड चार्टर्ड, नबिल, प्राइम कमर्सियल, सानिमा, नेपाल एसबीआई, इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंक छन्।
त्यस्तै नेपाल, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ, कुमारी र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन्। कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह सुस्त भएपछि ब्याजदर घटाइएको बताइएको छ। हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत रहेको छ।
व्यक्तिगत मुद्दतीमा बैंकहरूले दिने अधिकतम ब्याजदर
बैंक असोज (%) कात्तिक (%)
कृषि विकास ५.०५ ४.९५
एभरेस्ट ५.२५ ५.००
नेपाल ५.२५ ५.२५
लक्ष्मी सनराइज ५.२५ ५.००
माछापुच्छ्रे ६.०० ५.००
एनआईसी एसिया ६.०० ५.७५
प्रभु ५.३५ ४.९५
स्टान्डर्ड चार्टर्ड ५.१८ ५.००
राष्ट्रिय वाणिज्य ५.५० ५.५०
नबिल ५.५० ४.९५
ग्लोबल आईएमई ६.०० ६.००
सिद्धार्थ ५.५० ५.५०
प्राइम कमर्सियल ५.५० ५.००
कुमारी ५.०१ ५.०१
सानिमा ५.२५ ५.१५
हिमालयन ६.०० ६.००
नेपाल एसबीआई ५.१८ ५.००
इन्भेस्टमेन्ट मेगा ५.२५ ५.००
एनएमबी ६.०० ५.००
सिटिजन्स ५.२५ ५.०० स्रोत: बैंकहरूको सार्वजनिक सूचना


