इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि (सोमबार) नेपाल ल्याइँदै छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ ।
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थलमा उपस्थित हुने तयारी छ ।
कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनेका थिए । लामो समयसम्म उनी बेपत्ता रहेकामा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षण तथा फरेन्सिक रिपोर्टबाट शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले जानकारी दिएका छन् ।
विपिन अध्ययनका लागि इजरायल पुगेका थिए ।


