काठमाडौं । अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका लागि शुल्क तिर्नुपर्ने भएको छ । सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै अनलाइन मिडियाको दर्ता र नवीकरणमा शुल्क तोकेको हो ।
संशोधित नियमावलीअनुसार, अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्दा २ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि पत्रपत्रिका तथा अनलाइन मिडिया जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता हुँदै आएका थिए । तर, नयाँ व्यवस्थाअनुसार अब ती सबै सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमार्फत दर्ता तथा नियमन हुने भएका छन् ।
सरकारको निर्णयअनुसार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयपछि नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै संशोधित नियमावली लागू गरेको हो ।
मन्त्रालयका अनुसार, यो व्यवस्था अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन तथा सञ्चार क्षेत्रलाई नियमनमा ल्याउन उद्देश्य गरिएको हो ।


