बागलुङ, १६ कार्तिक ।
निर्माण व्यवसायीको चरम लापरवाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँ खण्ड नौ वर्षसम्म पनि कालोपत्र हुन सकेको छैन। लामो समयदेखि सडक अलपत्र परेपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्।
धुलाम्मे र हिलाम्मे सडकका कारण खेतीपाती, विशेष गरी सुन्तला खेतीमा ह्रास आएको र धुलोका कारण स्वास्थ्यमा समेत असर परेको स्थानीयको गुनासो छ। आन्दोलनको तयारीसँगै आइतबार स्थानीयहरूले बागलुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कुमानसिंह गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
स्थानीयहरूले चेतावनी दिएका छन् — “यदि ठेकेदारले तत्काल काम सुरु नगरे मंसिर १ गतेदेखि सडक पूर्ण रूपमा बन्द गर्ने।”
१२ किलोमिटर खण्ड अझै अधुरो
बागलुङ बजारदेखि घोडाबाँधेसम्म २६ किलोमिटर सडक कालोपत्र गर्ने सम्झौता नौ वर्षअघि भए पनि अझै १२ किलोमिटर खण्ड अधुरो छ। बिहुँ खण्डको १३ किमि सडक पाँच पटक म्याद थप्दा पनि कालोपत्र नभएपछि ठेक्का रद्द गरी नयाँ सम्झौता गरिएको थियो।
नयाँ सम्झौता भएको एक वर्ष बितिसक्दा पनि कामको भौतिक प्रगति जम्मा १२ प्रतिशत मात्र रहेको छ। त्यसपछि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा चार बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।
ठेक्का रद्दपछि पनि ढिलाइ
सडक निर्माणका लागि आर्थिक वर्ष २०७२/७३ मा दुई वर्षमा काम सक्ने गरी सम्झौता भएको थियो। पाँच पटक म्याद थप्दा पनि नसकिएपछि गत वर्ष ठेक्का तोडिएको थियो। त्यसपछि २०८१ असार २१ गते तामाङ–रिजाल भगवती जेभीसँग रु. २१ करोड ४९ लाखमा नयाँ ठेक्का गरिएको थियो। तर एक वर्षमा प्रगति १२ प्रतिशत मात्र देखिएको छ।
‘मानवअधिकारसम्म हनन्’
काठेखोला गाउँपालिका–५ का वडा अध्यक्ष ज्ञामनाथ कँडेल र वडा नं. ६ का अध्यक्ष वृहस्पती कँडेलको नेतृत्वमा जिल्ला प्रशासन पुगेका स्थानीयले धुलोका कारण बाँच्न पाउने अधिकारसमेत हनन् भएको बताएका छन्।
प्रजिअ गुरुङले भने मंसिरसम्म मध्यपहाडी लोकमार्ग कार्यालय, निर्माण व्यवसायी र स्थानीयबीच बैठक बसेर काम अगाडि बढाउने आश्वासन दिएका छन्।
‘काम सुरु भएको छ’
मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वत कार्यालयकी इन्जिनियर कल्पना मिश्रका अनुसार निर्माण व्यवसायीलाई ताकेता गरेपछि केही काम सुरु भएको छ। तर, स्थानीयले ठोस प्रगति नभएसम्म आन्दोलनको तयारी जारी राख्ने जनाएका छन्।


