बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै बागलुङ जिल्लामा एक नयाँ मतदानस्थल थपिएको छ भने दुई मतदानस्थल स्थानान्तरण गरिएका छन्। मतदाताको संख्या बढ्दै जानु, भौगोलिक कठिनाइ तथा पहुँच सहजताका कारण मतदानस्थल थप–सार्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालका अनुसार गलकोट नगरपालिका–११ स्थित रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाबाट आंशिक मतदाता सारेर मनेवा आधारभूत विद्यालयलाई नयाँ मतदानस्थलका रूपमा सिफारिस गरिएको हो। रिघामा रहेका करिब २,८०० मतदातामध्ये १,१९० मतदातालाई सारेर मनेवामा मतदान केन्द्र कायम गर्न सिफारिस गरिएको छ।
यस्तै बागलुङ नगरपालिका–८ सिगानामा रहेको वडा कार्यालयको साँघुरो संरचनाका कारण यसअघि कायम गरिएको मतदानस्थललाई सिगाना स्वास्थ्यचौकीमा स्थानान्तरण गरिएको छ।
त्यसैगरी बडिगाड गाउँपालिका–१० मा पुरानो वडा कार्यालयमा रहेको मतदानस्थल पूर्वाधार अभावका कारण रनामा स्थित नयाँ वडा कार्यालयमा सारिएको निर्वाचन कार्यालयले जनाएको छ।
सिफारिस गरिएको नयाँ मतदानस्थल तथा स्थानान्तरणबारे अन्तिम निर्णय आयोगबाट आइनसकेको रिजालले बताए। स्थानीयवासीले लामो दूरी, भीडभाड र भौगोलिक चुनौतीका कारण मतदानस्थल थप–सार्न पहल गरिएको बताएका छन्।
यदि नयाँ मतदानस्थललाई आयोगले स्वीकृति दिएमा बागलुङमा अहिलेका १०६ मतदानस्थल बढेर १०७ पुग्नेछ।
गत निर्वाचनमा जिल्लामा २३१ मतदान केन्द्र रहेका थिए भने यसपटक मतदाता संख्या बढेकाले केन्द्र संख्या समेत बढ्ने अनुमान गरिएको छ।
सरकारले असोज १० गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन गरेको मतदाता नामावली संकलन अनुसार बागलुङमा पहिलेका १,८९,१७३ मतदातामा ५,९९३ जना नयाँ मतदाता थपिएका छन्। नयाँ दर्तामध्ये १,४६४ जना बायोमेट्रिक तथा ३,९२९ जना राष्ट्रिय परिचयपत्रका आधारमा दर्ता भएका हुन्। साथै करिब १०० जनाको बाह्य दर्ता गरिएको छ।


