पाल्पा — पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अरुणखोला–मित्याली हुँदै रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जीप आज दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।
दुर्घटनामा आठ जना घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रहरीका अनुसार जीपमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने मृतकहरूको पहिचान भने खुल्न बाँकी छ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पूर्वी नवलपरासीस्थित मध्यबिन्दु प्रादेशिक अस्पताल पठाइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


