आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं.–१ बाट आयुसा कँडेललाई प्रत्यक्षतर्फ महिला उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
पार्टी भित्रको छलफल र संरचनागत सिफारिसपछि कँडेलको नाम अघि सारिएको हो। पार्टीका नेताहरूका अनुसार कँडेललाई सिफारिस गर्नमा नयाँ पुस्ताको ऊर्जा, स्थानीय संगठनमा उनीको सक्रियता, नीतिगत स्पष्टता तथा कूटनीतिक पहुँच प्रमुख आधार बनेका छन्।
राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यका रूपमा कँडेलले युवा नीति, सहभागिता, रोजगारी तथा नेतृत्व विकासका सवालमा निरन्तर काम गर्दै आएकी छन्। यही सक्रियता र उनका स्थानीय जडताका कारण पार्टीका विभिन्न तह–तहबाट उनको नाम प्राथमिकतामा परेपछि औपचारिक सिफारिस गरिएको बताइन्छ।
क्षेत्र नं.–१ मा अन्य सम्भावित प्रतिस्पर्धीहरू बलियोसँग प्रस्तुत हुन नसकेको र कतिपयको जनस्तरमा लोकप्रियता कमजोर देखिएको परिस्थितिमा कँडेल जित्न सक्ने सम्भावनासहितको उम्मेदवारका रूपमा अगाडि आएको राजनीतिक स्रोतको दाबी छ।


