बागलुङ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले उम्मेदवारको नाम सिफारिस गरेको छ।
मंगलबार बागलुङ बजारमा सम्पन्न जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभा तर्फ बागलुङ क्षेत्र नं. १ र २ का लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो।
बैठकको निर्णयअनुसार बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ राप्रपाका केन्द्रीय सदस्य देवीप्रसाद कँडेल, गण्डकी प्रदेश सदस्य सुरज खड्का, बागलुङ नगर समितिका अध्यक्ष डिल्ली आचार्य तथा युवा नेता शैलेन्द्र आचार्यको नाम सिफारिस गरिएको छ।
त्यसैगरी बागलुङ क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ राप्रपा बागलुङका उपाध्यक्ष डम्मर केसी र गण्डकी प्रदेश सदस्य अंचल शाही सिफारिस भएका छन्।
यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ राप्रपाका केन्द्रीय उपाध्यक्ष दिलविकास राजभण्डारी, गण्डकी प्रदेश सदस्य समीक्षा थापा तथा कमला परियारको नाम सिफारिस गरिएको छ।
यसैबीच बैठकले राप्रपा बागलुङको जिल्ला अधिवेशन पौष २५ गते बागलुङ बजारमा आयोजना गर्ने निर्णयसमेत गरेको छ।
बैठक राप्रपा बागलुङका अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकका निर्णयबारे जानकारी अध्यक्ष खड्काले दिनुभएको हो।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनः राप्रपा बागलुङद्वारा उम्मेदवार सिफारिस


