काठमाडौं, १५ पुस। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ। निर्वाचन आयोगले सुगम तथा दुर्गम क्षेत्रलाई आधार मानेर फरक–फरक खर्च सीमा निर्धारण गरेको हो।
निर्वाचन आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्र—क्षेत्र नं. १, ३, ६, ७ र ८—का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँ बराबर खर्च गर्न पाउने सीमा तोकिएको छ।
त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँ, ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँ र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।
आयोगका अनुसार उम्मेदवारले निर्वाचन खर्च गर्न बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्नेछ र सम्पूर्ण खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ।
निर्वाचन आयोगले तोकेको खर्च सीमाभित्र रहेर मात्र खर्च गर्नुपर्ने र प्रतिनिधि सभा सदस्य ऐनअनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने जनाएको छ।


