काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाइएको हो।
नयाँ मूल्यअनुसार पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी डिजेल तथा मट्टीतेल पहिलो वर्गमा प्रतिलिटर १३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १३६ रुपैयाँ र तेस्रो वर्गमा १३७ रुपैयाँ तोकिएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ। यस्तै सुर्खेत र दाङ दोस्रो वर्गमा परेका छन् भने काठमाडौँ, पोखरा र दीपायल तेस्रो वर्गमा समावेश छन्।
यसैबीच हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिक उडानतर्फ प्रतिलिटर ६ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर ४२ अमेरिकी डलरले मूल्य घटाइएको निगमले जनाएको छ।
एलपी ग्यासको लागत बढेर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै हाललाई बिक्री मूल्य यथावत् राखिएको निगमको भनाइ छ।


