काठमाडौं। भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा विश्वकप खेल्ने टोली सार्वजनिक गरेको हो।
घोषित टोलीमा एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका शेर मल्ल पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका छन्। शेरको छनोटलाई भविष्यका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यस्तै, बसिर अहमद पनि विश्वकप टोलीमा स्थान बनाउन सफल भएका छन्।
यसपटकको टोलीबाट विश्वकप एसिया–ईएपी छनोट खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने बाहिरिएका छन्। टोली चयनमा हालको फर्म, अनुभव र सन्तुलनलाई प्राथमिकता दिइएको क्यानले जनाएको छ।
नेपालले विश्वकपमा अनुभवी र युवा खेलाडीको संयोजनसहित प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा टोलीले विश्वकपमा प्रभावशाली प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
नेपालको १५ सदस्यीय टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम र सन्दीप जोरा।
रोहित पौडेलको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोली सार्वजनिक


