Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

आठौँ बागलुङ महोत्सवमा ८ करोडको आर्थिक कारोबार

Advertisement

Advertisement

बागलुङ।
उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजनामा सम्पन्न आठौँ बागलुङ महोत्सवमा करिब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । महोत्सव अवधिभर करिब ४ लाख दर्शकले अवलोकन गरेका आयोजकले बताएका छन् ।
बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा पुस ११ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको महोत्सवमा व्यावसायिक प्रवर्द्धनसँगै स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको थियो । ‘मेड इन बागलुङ’ अवधारणाअन्तर्गत बागलुङमा उत्पादन भएका वस्तुको प्रदर्शन तथा बिक्रीलाई महोत्सवको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो ।
महोत्सवमा निसीखोलामा उत्पादित भेंडाको ऊनबाट बनेका काम्ला, अल्लोको कपडा, गुन्द्रक, भाँगो, मकै तथा कोदोको पिठो, सिस्नोको धुलो, भुटेको मकै, टिमुर, आलु, सिल्टिमुर, सुन्तला, किवीलगायत स्थानीय उत्पादनले उल्लेखनीय बजार पाएको आयोजकले जनाएको छ ।
त्यस्तै अटोमोबाइल, होटल तथा रेष्टुरेण्ट, कृषि सामग्री तथा उपभोग्य वस्तुसहित विभिन्न प्रकारका व्यापारिक स्टलहरू राखिएका थिए । स्टलमार्फत राम्रो कारोबार भएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए ।
महोत्सव अवधिभर मनोरञ्जनात्मक कार्यक्रमसँगै गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, दोहोरीगीत प्रतियोगिता, महिलाका लागि लठ्ठो तान्ने, घैटोफोर तथा भाले छुनेलगायत विविध प्रतियोगिता सञ्चालन गरिएका थिए ।
सङ्घका निवर्तमान अध्यक्ष नरेश कँडेलका अनुसार महोत्सवबाट सङ्कलन भएको रकममध्ये सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा आश्रम बागलुङलाई ५ लाख ११ हजार १११ रुपैयाँ र नेपाल पत्रकार महासङ्घ बागलुङ शाखालाई १ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
महोत्सवबाट बचेको रकम व्यवसायीहरूको कल्याणकारी कोष, बागलुङ बजार क्षेत्रमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण तथा कोशेली घर सञ्चालनलगायतका क्षेत्रमा खर्च गरिने उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.