काठमाडौं। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अबको आफ्नो यात्रा सक्रिय राजनीतिमै केन्द्रित हुने घोषणा गरेका छन्। ‘उज्यालो नेपाल’ निर्माणका लागि सशक्त रूपमा राजनीतिक यात्रामा अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। राजीनामा बुझाएलगत्तै उनले भोलिदेखि नै आफू पूर्ण रूपमा राजनीतिमा सक्रिय हुने बताएका छन्।
यसअघि मन्त्रालयको जिम्मेवारीका कारण काममै व्यस्त रहेको उल्लेख गर्दै अब भने खुला रूपमा राजनीतिमा लाग्ने समय आएको घिसिङको भनाइ छ।
‘म पदबाट बाहिरिएको छु, तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,’ उनले भने, ‘उज्यालो नेपाल बनाउन अबको मेरो बाटो राजनीतिक यात्रा नै हुनेछ र यसैमार्फत म अघि बढ्नेछु।’
देशभित्र देखिएका समसामयिक समस्या, वर्तमान परिस्थिति र अवस्थालाई परिवर्तन गर्न राजनीतिक नेतृत्वमा जान आवश्यक देखेकाले आफूले राजीनामा दिएको घिसिङले स्पष्ट पारे।
‘अब त्यो समय आएको छ। भोलिदेखि नै मेरो राजनीतिक जीवन सुरु हुन्छ र प्रभावकारी ढङ्गले अघि बढ्छ,’ उनले भने।
घिसिङले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समझदारीअनुसार उपसभापति बन्ने सहमति भएको चर्चा भए पनि त्यो अहिलेसम्म कार्यान्वयनमा नआएको बताएका छन्।
‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भनिए पनि हालसम्म त्यो लागू भएको छैन,’ उनले भने, ‘मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन।’
राजनीतिमा प्रवेशसँगै घिसिङले आगामी दिनमा देश परिवर्तनको अभियानलाई जनस्तरसम्म लैजाने संकेत दिएका छन्।
मन्त्री पदबाट राजीनामा दिएपछि कुलमान घिसिङको राजनीतिक यात्राको घोषणा


