काठमाडौँ — नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको रकमको चेक जारी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी हुनुपर्ने व्यवस्था गरेको हो।
सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) न्यूनीकरण गर्ने उद्देश्यले नगद कारोबारको सीमा १० लाख रुपैयाँबाट घटाएर ५ लाख रुपैयाँमा झारेको थियो। सोही निर्णय नेपाल राजपत्रमा प्रकाशित भएपछि राष्ट्र बैंकले चेकमार्फत प्रतिपटक झिक्न सकिने नगदको सीमा पनि ५ लाख रुपैयाँ कायम गरेको हो।
नयाँ व्यवस्था अनुसार ५ लाख रुपैयाँभन्दा बढीको रकम सम्बन्धित व्यक्तिको खातामा मात्र जम्मा गर्न सकिनेछ। कुनै पनि व्यक्ति वा संस्थाले प्रतिपटक ५ लाख रुपैयाँभन्दा कमको कारोबार नगदमा गर्न सक्ने भए पनि सोभन्दा बढीको कारोबार गर्नुपरेमा एकाउन्ट पेयी चेक प्रयोग गर्नुपर्नेछ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार यो व्यवस्थाले सामाजिक कार्य वा व्यापारका क्रममा परिवारले नगद संकलन गरेको अवस्थामा भने असर नपर्नेछ।
केन्द्रीय बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ५ लाख रुपैयाँ वा सोभन्दा बढीको भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी चेक वा सम्बन्धित व्यक्तिको खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ। फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा जारी गरिएका चेकहरू पनि एकाउन्ट पेयी नै हुनुपर्ने व्यवस्था गरिएको छ।
तर, कुनै निक्षेपकर्ता वा बचतकर्ताले विशेष कारण देखाई नगद भुक्तानीका लागि निवेदन दिएमा, कारण मनासिब देखिएमा बैंकले तोकिएको सीमाभन्दा बढी नगद भुक्तानी गर्न सक्नेछ। त्यस्तो भुक्तानीको मासिक विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूले पनि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को उद्देश्य अनुरूप ५ लाख रुपैयाँ वा सोभन्दा बढीको भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्ट पेयी चेकमार्फत नै गर्नुपर्नेछ।
राष्ट्र बैंकद्वारा नगद झिक्ने सीमा ५ लाखमा कायम


