बागलुङ, २९ पुस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित बागलुङ जिल्लामा निर्वाचन प्रहरी भर्ना, छनौट तथा नियुक्तीको प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार जिल्लाभर १ हजार २९८ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ। निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति व्यवस्थापन गरिएको उनले बताए।
निर्वाचन प्रहरी बन्न इच्छुक व्यक्तिहरूले माघ १ गतेभित्र जिल्ला प्रहरी कार्यालय बागलुङ तथा इलाका प्रहरी कार्यालय बरेङ, गलकोट र बुर्तिबाङमा दरखास्त बुझाउन सक्ने व्यवस्था मिलाइएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले सम्पूर्ण छनौट तथा नियुक्ती प्रक्रिया अगाडि बढाउनेछ।
भर्नामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त सुरक्षाकर्मी, पूर्ववनरक्षक, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका व्यक्ति तथा विदेशी सुरक्षा निकायमा सेवा गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइने जनाइएको छ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, सामान्य लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन्। माघ ५ देखि १० गतेभित्र छनौट प्रक्रिया सम्पन्न गरी माघ १२ गते नतिजा सार्वजनिक गरिने समितिको तयारी छ।
छनौटमा परेका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम प्रदान गरिनेछ। निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ। सो अवधिका लागि रु. ३४ हजार ७७६ पारिश्रमिक, खाद्यान्न तथा पोशाक खर्च, तयारी खर्च रु. ८४६ र चार दिनको खाजा खर्च रु. १,२०० उपलब्ध गराइने व्यवस्था गरिएको छ।
प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै बागलुङमा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु


