आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ।
माघ १ गतेदेखि उत्तरायण सुरू हुने विश्वास अनुसार यस दिनपछि दिन क्रमशः लामो र रात छोटो हुँदै जान्छ। यस अवसरमा देशका विभिन्न नदी तीर्थस्थलहरूमा स्नान गर्ने परम्परा रहेको छ। देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा आज बिहानैदेखि स्नान गर्न जाने भक्तजनको घुइँचो देखिएको छ। ती स्थानहरूमा विशेष मेलासमेत आयोजना गरिएको छ।
तराई क्षेत्रमा माघ १ गतेलाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइने चलन रहेको छ। यस दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो र खिचडीजस्ता खाद्य परिकार खाने परम्परा छ। जाडो मौसममा शरीरलाई न्यानो राख्न मद्दत गर्ने मान्यताका कारण यस्ता परिकार सेवन गरिँदै आएको जानकारहरू बताउँछन्।
केही स्थानमा पुस महिनाको अन्तिम दिनमा पकाइएको तरुल माघ महिनामा खाने चलन पनि रहेको छ। यस सन्दर्भमा ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखान प्रचलित छ।
माघे सङ्क्रान्तिका दिन तिलको तेलले शरीरमा मालिस गर्ने चलन पनि रहेको छ। यसै अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउँदैछ। माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गर्ने परम्परालाई ध्यानमा राख्दै गत वर्षदेखि यो दिवस मनाउन थालिएको मन्त्रालयले जनाएको छ।
देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदै


