सुरेश छन्त्याल
गलकोट नगरपालिका –१०, पाण्डबखानीस्थित रमुवा गाउँमा रहेको वकरा पोखरी पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ। गाउँसम्म पुग्ने नयाँ ट्रयाक खुलेसँगै लामो समयसम्म ओझेलमा परेको यो प्राकृतिक पोखरी अहिले आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा चिनिन थालेको हो।
प्राकृतिक सौन्दर्य, शान्त वातावरण र हरियालीले भरिपूर्ण वकरा पोखरीमा पछिल्लो समय अवलोकन, फोटो खिच्ने, टिकटक भिडियो बनाउने तथा पिकनिक मनाउन जानेहरूको चहलपहल बढेको स्थानीयवासीले बताएका छन्। यसअघि सहज पहुँच नहुँदा यति सुन्दर स्थान भए पनि बाहिरी आगन्तुक पुग्न कठिन थियो।
वडा सदस्य कुमार पुनका अनुसार, ट्रयाक खुलेपछि वकरा क्षेत्रको पहिचान विस्तारै फैलिन थालेको छ। “पहिला बाटो नहुँदा यहाँ पुग्न निकै कठिन थियो। अहिले भने स्थानीय मात्र नभई अन्य ठाउँबाट पनि मानिसहरू आउन थालेका छन्,” उनले भने। यसले रमुवा गाउँको पहिचान बढाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीय युवायुवतीहरूले सामाजिक सञ्जालमार्फत पोखरीका दृश्यहरू सार्वजनिक गर्न थालेपछि वकरा पोखरीको चर्चा अझ बढेको छ। स्वच्छ वातावरण र प्राकृतिक सुन्दरताले भरिएको यो स्थान भविष्यमा व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना बोकेको स्थानीयहरूको भनाइ छ।
यद्यपि, स्थानीयवासीहरू पोखरी र वरपरको वातावरण संरक्षण गर्दै आवश्यक पूर्वाधार विकासमा सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिन्छन्। संरक्षण र प्रवर्द्धनलाई सँगसँगै अघि बढाउन सके वकरा पोखरी रमुवा गाउँको पहिचानसँगै स्थानीय आम्दानीको स्रोत बन्न सक्ने निवर्तमान वडा अध्यक्ष तिलक घर्तिले बताए।


