
बाग्लुङ–२ ले सोम शर्मा जस्तो सक्षम, अब्बल र देशका लागि उपयोगी नेतृत्व पाउनु सकारात्मक विषय बनेको छ। पछिल्लो समय “कुन क्षेत्रका हुन्?” भन्ने प्रश्नभन्दा पनि “को सक्षम छ र देशका लागि कत्तिको उपयोगी हुन सक्छ?” भन्ने विषयलाई प्राथमिकता दिनुपर्ने आवश्यकता बढ्दै गएको छ।
भदौ २३–२४ मा सम्पन्न जेन्जी आन्दोलनको मुख्य माग पनि यही थियो—व्यक्तिगत पहुँच, टोल–प्रभुता वा शक्तिको राजनीतिभन्दा माथि उठेर प्रणालीसहित देश निर्माण गर्न सक्ने नेतृत्व संसदमा पुग्नुपर्छ भन्ने।
जेन्जी आन्दोलनको अग्रपंक्तिमा उभिएका सोम शर्मा आन्दोलनमै सीमित व्यक्ति होइनन्। उहाँ वञ्चित, पीडित र अन्यायमा परेका समुदायको पक्षमा निरन्तर सामाजिक रूपमा सक्रिय रहँदै आउनुभएको छ। सामाजिक न्याय र उत्तरदायी शासनको पक्षमा उहाँको भूमिकाले धेरैको ध्यान तानेको छ।
सामाजिक सञ्जालमा भने “अर्को क्षेत्रबाट आएर चुनाव लड्नु हुँदैन” भन्ने धारणा पनि देखिने गरेको छ। यस्तो विचारलाई सम्मान गर्न सकिए पनि यो पुराना राजनीतिक अभ्यास र परम्परागत दलहरूले निर्माण गरेको बृत्तान्तसँग जोडिएको टिप्पणीकारहरूको बुझाइ छ।
समय भने अब क्षेत्रीय सीमाभन्दा माथि उठेर भुइँको आवाज संसदसम्म पुर्याउने हिम्मत, दृष्टि र क्षमता भएको नेतृत्व खोजिरहेको छ। सक्षम नेतृत्व संसदसम्म पुग्न सके टोल सुधारिन्छ, पालिका सुधारिन्छ, जिल्ला र प्रदेश हुँदै देश नै सुधारिने विश्वास व्यक्त गरिएको छ।
यही बुझाइका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीले बाग्लुङ–२ मा सोम शर्मा जस्ता सक्षम व्यक्तिलाई अघि सारेको बताइएको छ। देशले खोजेको परिवर्तन यही बाटो हुँदै संस्थागत हुने अपेक्षा गरिएको छ।


