बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा दुई निर्वाचन क्षेत्रबाट गरी २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा क्षेत्र नम्बर १ बाट ११ जना र क्षेत्र नम्बर २ बाट १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यसपटक पनि बागलुङको चुनावी मैदानमा महिला उम्मेदवारको संख्या अत्यन्त न्यून देखिएको छ । दुवै निर्वाचन क्षेत्रबाट जम्मा दुई जना महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ बाट मंगोल नेशनल अर्गनाइजेशन पार्टीकी गुमा कुमारी बुढा राना मगर र क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी मञ्जु शर्मा चालिसे चुनावी प्रतिस्पर्धामा छन् ।
क्षेत्र नम्बर १ की उम्मेदवार गुमा कुमारी बुढा राना मगर तनहुँको व्यास नगरपालिका–१३ निवासी हुन् । समाजले अझै पनि महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै त्यसलाई तोड्न आफू चुनावमा होमिएको उनको भनाइ छ । संविधानले महिलालाई ३३ प्रतिशत सहभागिताको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले हक र अधिकारका लागि विद्रोह आवश्यक भएको बताइन् ।
उनले महिलासँगै आदिवासी जनजाति तथा पिछडिएका समुदायका मुद्दा संसदसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताइन् ।
“महिलालाई चुलोचौकोमै सीमित गर्ने सोच अझै कायम छ, अब त्यसरी सीमित भएर बस्न सकिँदैन,” उनले भनिन्, “महिला, आदिवासी जनजाति र आम नागरिकको हक अधिकारका लागि लड्न म चुनावमा होमिएको हुँ ।”
यता बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी मञ्जु शर्मा चालिसे गलकोट नगरपालिका–३ की निवासी हुन् । लामो समय नेपाली कांग्रेसमा सक्रिय रहेकी चालिसे २०७९ सालको स्थानीय तह निर्वाचनमा गलकोट नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेकी थिइन् । सोही वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेकी उनी पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलसँग पराजित भएकी थिइन् ।
महिलालाई कमजोर ठान्ने सोचकै कारण धेरै पार्टीहरूले टिकट नदिने परिपाटी रहेको उल्लेख गर्दै चालिसेले आफूले भने दुई पटक प्रतिनिधिसभा चुनावमा टिकट पाएको बताइन् । महिलाले सामाजिक, पारिवारिक र आर्थिक व्यवस्थापन गर्नुपर्ने बाध्यताका कारण राजनीतिमा सहभागिता कम भएको उनको भनाइ छ ।
स्वास्थ्य सेवाको क्षेत्रमा लामो समय काम गर्दै आएको अनुभवका आधारमा पश्चिम बागलुङका नागरिकका समस्या आफूले नजिकबाट बुझेको दाबी गर्दै यसपटकको चुनावमा विजयी हुनेमा ढुक्क रहेको उनले बताइन् ।
“महिलाहरू धेरै हिसाबले दबिनु परेको अवस्था छ, तर मैले समाजमा निरन्तर योगदान दिएको छु,” उनले भनिन्, “जनताले मलाई चिन्छन् र विश्वास गर्छन् ।”
क्षेत्र नम्बर १ मा मंगोल नेशनल अर्गनाइजेशनकी गुमा कुमारी बुढा राना मगरसहित नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राप्रपाका कल्याण आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का, नेकपा एमालेका हिराबहादुर केसी, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली कांग्रेसका भीमबहादुर श्रीस राना, नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेकपा माओवादी केन्द्रका टेकबहादुर केसी उम्मेदवार छन् ।
त्यस्तै क्षेत्र नम्बर २ मा एमालेकी मञ्जु शर्मा चालिसेसँगै नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपा का ज्ञामनाथ गैरे, राप्रपाका अञ्चल शाही, मंगोल नेशनल अर्गनाइजेशनका जुनबहादुर थापा, मानवतावादी पार्टीका टेकप्रसाद कामी, नेशनल रिपब्लिक पार्टीका नरबहादुर बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीका पदमबहादुर कुँवर, जसपाका पूर्णबहादुर घर्ती मगर, नेकपा माओवादी केन्द्रका लोकेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा र श्रम संस्कृति पार्टीका हर्कबहादुर पुन उम्मेदवारी दर्ता गराएका छन् ।
बागलुङ चुनावमा महिला उम्मेदवार: मञ्जु शर्मा चालिसे र कुमारी बुढा राना मगर


