
गलकोट। नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा बागलुङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ की उम्मेदवार मञ्जु शर्मा चालिसेले प्रतिनिधि सभाको आगामी निर्वाचन मुलुकको राष्ट्रियता र स्वाधीनतासँग प्रत्यक्ष रूपमा जोडिएको महत्त्वपूर्ण निर्वाचन भएको बताएकी छन्।
नेकपा एमाले गलकोट नगर कमिटीले आयोजना गरेको पूर्ण बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै चालिसेलेहामी आज एउटा यस्तो मोडमा उभिएका छौं, जहाँ एउटा सही निर्णयले देशलाई स्थिरता, स्वाभिमान र समृद्धितर्फ लैजान सक्छ, भने एउटा गलत निर्णयले अनिश्चितताको अन्धकारमा धकेल्न सक्छ।
उहाँका अनुसार प्रतिनिधि सभाको निर्वाचन सामान्य सत्ता फेरबदलको प्रक्रिया मात्र होइन,
यो नेपालको राष्ट्रियता, स्वाधीनता र भावी पुस्ताको भविष्य सुरक्षित गर्ने ऐतिहासिक अवसर हो।
“बाह्य शक्तिको प्रभाव, गलत एजेन्डा र अस्थिर राजनीतिक खेलबाट देशलाई जोगाउनु आज सबैभन्दा ठूलो जिम्मेवारी हो,”
भन्दै उहाँले सचेत मतदाता र जिम्मेवार कार्यकर्ताको भूमिकामा जोड दिनुभयो।
सामाजिक सञ्जालको प्रसङ्ग उठाउँदै उहाँले भावुक तर स्पष्ट शब्दमा भन्नुभयो—
“स्क्रिनमा देखिएको कुरा नै सत्य ठान्ने बानी खतरनाक छ।
सत्य आवाजले होइन, तथ्य र कामले बोल्छ।
हामीले जनतालाई भ्रम होइन, यथार्थ देखाउनुपर्छ।”
उहाँको भनाइमा एउटा गहिरो आग्रह थियो—
देश बचाउन नारा होइन, विवेक चाहिन्छ।
राजनीति स्वार्थका लागि होइन, सेवाका लागि हुनुपर्छ।
“हामी आज निर्णय गर्छौं भने मात्र भोलि पुस्ताले गर्व गर्न सक्ने नेपाल पाउनेछ,”
भन्दै मञ्जु शर्मा चालिसेले राष्ट्रिय स्वाभिमान, स्थिरता र समृद्धिको यात्रामा सबैलाई जिम्मेवार भएर अघि बढ्न आह्वान गर्नुभयो।
कार्यक्रममा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य सुनिल शेरचनले बागलुङको पश्चिम क्षेत्र विकास र अधिकारका हिसाबले पछि परेको उल्लेख गर्दै विकास निर्माणका अधिकार सुनिश्चित गर्न एमालेको जित अपरिहार्य रहेको बताए। प्रतिनिधि सभाको निर्वाचन पश्चिम बागलुङका नागरिकका लागि अवसर भएको उल्लेख गर्दै उनले सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे।
त्यस्तै नेकपा एमाले गण्डकी प्रदेश सदस्य तिलक उप्रेतीले एमाले समुन्नत, सुसंस्कृत र सभ्य समाज निर्माणका लागि निरन्तर क्रियाशील रहेको बताए। राम्रो काम गर्दा विरोध र षड्यन्त्र स्वाभाविक हुने उल्लेख गर्दै उनले ती भ्रमलाई चिरेर मतदातालाई जागरुक बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने धारणा राखे। एमाले र अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताप्रतिको अडानका कारण देशी–विदेशी शक्तिहरूले पार्टीविरुद्ध घेराबन्दी गरिरहेको भन्दै सचेत रहन आग्रह गरे।
सो अवसरमा नेकपा एमाले बागलुङका कार्यवाहक अध्यक्ष तथा निर्वाचन क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाद भुसालले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने एमालेको मूल लक्ष्य रहेको बताए। एमाले अन्य पार्टीजस्तै केवल सत्ताका लागि होइन, स्पष्ट गन्तव्यसहितको यात्रामा हिँडेको पार्टी भएकाले आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गरे।
कार्यक्रमकै अवसरमा नेकपा एमाले गण्डकी प्रदेश सदस्य तिलक उप्रेतीको संयोजकत्वमा तथा गलकोट नगर कमिटीका कार्यवाहक अध्यक्ष ईश्वर बोहराको सचिवतामा ३०१ सदस्यीय गलकोट नगरपालिका स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।
त्यसैगरी, नेकपा एमाले गलकोट नगर कमिटीका उपसचिव बिनु केसीको संयोजकत्वमा तथा अखिल नेपाल महिला संघ गलकोट नगर कमिटी अध्यक्ष सुमित्रा कार्कीको सचिवतामा १०१ सदस्यीय महिला परिचालन कमिटी गठन गरिएको छ।
बैठक तथा अन्तरक्रिया कार्यक्रम नेकपा एमाले गलकोट नगर कमिटीका कार्यवाहक अध्यक्ष ईश्वर बोहराको अध्यक्षता, जिल्ला सदस्य डम्मर श्रीसको स्वागत मन्तव्य तथा नगर कमिटी सचिव दान श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो।


