बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन लक्षित घरदैलो अभियान अन्तर्गत गलकोट नगरपालिका–१० पाण्डखानीमा अभियान सञ्चालन गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रित गर्दै बागलुङ क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार सोम शर्मा सहित पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो ।
घरदैलोका क्रममा उम्मेदवार शर्माले मतदातासँग प्रत्यक्ष संवाद गर्दै अबको राजनीति परिणाममुखी र पारदर्शी हुनुपर्ने बताउनुभयो । “वर्षौँदेखि दोहोरिँदै आएको नेतृत्वले जनअपेक्षा पूरा गर्न सकेन, अब नागरिक स्वयं परिवर्तनको पक्षमा उभिनुपर्ने बेला आएको छ,” शर्माले भन्नुभयो ।
उहाँले रास्वपा कुनै व्यक्तिवादी एजेण्डाभन्दा पनि प्रणाली सुधारको अभियानमा रहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हामी संसदमा पुगेर भाषण मात्र गर्ने होइन, कानुनी र नीतिगत सुधारमार्फत ठोस परिणाम दिने लक्ष्यका साथ अघि बढेका छौँ,” उहाँको भनाइ थियो ।
अभियानका क्रममा स्थानीयवासीले सडक पूर्वाधार, युवा रोजगारी, कृषि उत्पादनको बजारीकरण, शिक्षा र स्वास्थ्य सेवाको पहुँचबारे चासो व्यक्त गरेका थिए । ती विषयलाई योजनाबद्ध ढंगले समाधान गर्ने प्रतिबद्धता शर्माले जनाउनुभयो ।
रास्वपाले निर्वाचन नजिकिँदै जाँदा गलकोटका अन्य वडासहित बागलुङ क्षेत्र नम्बर २ का विभिन्न स्थानमा घरदैलो अभियानलाई थप तीव्र बनाउने जनाएको छ ।
रास्वपाको अभियान तीव्र, पाण्डखानीमा मतदातासँग सोम शर्माको संवाद


