राजनीति आउँछ–जान्छ, सम्बन्ध रहिरहन्छ : बोहोरा
गलकोट, बागलुङ — प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा देशभर राजनीतिक गतिविधि तीव्र भएको छ। विभिन्न दलहरूले प्रचार–प्रसार र घरदैलो अभियानलाई तीव्र बनाएका छन्। मतदाता मतदानमा सहभागी हुन तयारी गरिरहेका छन् भने राजनीतिक वातावरणमा उत्साह र चासो दुवै देखिन थालेको छ।
यसैबीच, नेकपा एमाले का युवा नेता तथा बागलुङ जिल्ला गल्कोट नगर कमिटिका कार्य बाहक अध्यक्ष ईश्वर बोहोराले फेसबुकमार्फत सबैलाई सम्बन्ध र आपसी सम्मान जोगाउन आग्रह गर्नुभएको छ।
उहाले लेख्नुभएको छ:
“आदरणीय आमा–बुवा, दाजू–भाइ तथा दिदी–बहिनीहरू, निर्वाचन केवल मतपत्रको कुरा होइन, यो हाम्रो परिवार, समाज र भविष्यको कुरा हो। आफ्नो रोजाइ राखौं तर अरूको मतको सम्मान गरौं। राजनीति आउँछ–जान्छ, तर दाजुभाइको सम्बन्ध सधैं मिठो रहिरहनु पर्छ। कमेन्टमा गाली नगर्नुहोस्, आफ्नै आफन्तलाई टाढा नबनाउनुहोस्, मन नतोडौं। यही हाम्रो सभ्य समाजको पहिचान हो।”
बोहोराका अनुसार, आज देशमा मतदाता सक्रिय छन्, तर राजनीतिक प्रतिस्पर्धाबीच परिवार र समाजका सम्बन्ध जोगाउनु अत्यन्त आवश्यक छ। उनी भन्छन्, “हामी एउटै गाउँमा बस्छौं, एउटै समाजमा रमाउँछौं। मत फरक पर्न सक्छ, तर मन नफर्काउनु हाम्रो सभ्य समाजको पहिचान हो।”
आजको परिस्थितिमा राजनीतिक दलहरूले घरदैलो, प्रचार–प्रसार, घोषणापत्र र जनसंपर्क अभियान मार्फत मतदातासँग संवाद बढाइरहेका छन्। तर यसबीच व्यक्तिगत मत राख्दा पनि आपसी मित्रता, सम्बन्ध र सम्मानलाई प्राथमिकता दिन सबैलाई चेतावनी दिइएको छ।
यस सन्देशले केवल मतदानको अधिकार मात्र होइन, सभ्य समाज, पारिवारिक सद्भाव र आपसी सम्मानको महत्व पनि स्मरण गराउँछ।
मत फरक हुन सक्छ, मन होइन – ईश्वर बोहोराको भावुक सन्देश


