बागलुङ — बागलुङ जिल्लामा क्षयरोग (टीबी) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। चालु आर्थिक वर्षको ९ महिनामा मात्रै १८ जनाको मृत्यु भइसकेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। कार्यालयका अनुसार आर्थिक वर्षको अन्त्यसम्म यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
संक्रमित व्यक्तिले समयमै उपचार नगर्दा संक्रमण समुदायमा फैलिँदै गएको र त्यसले मृत्युदरसमेत बढाएको जनाइएको छ। अघिल्लो आर्थिक वर्षमा २६४ जना संक्रमित हुँदा १९ जनाको मृत्यु भएको थियो भने यस वर्ष हालसम्म १४४ संक्रमितमध्ये १८ जनाले ज्यान गुमाइसकेका छन्।
प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेका अनुसार मृत्यु हुनेमध्ये सबैभन्दा बढी गलकोट नगरपालिकाका रहेका छन्। गलकोटमा मात्रै ८ जनाको मृत्यु भएको छ। त्यस्तै बडिगाड गाउँपालिकामा ५ जना, ढोरपाटन नगरपालिकामा २ जना तथा निसीखोला, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा १/१ जनाको मृत्यु भएको छ।
घिमिरेले परीक्षणको दायरा विस्तार गरिँदै जाँदा संक्रमितको पहिचान बढेको बताए। तर विकट क्षेत्रहरूमा जनचेतनाको अभावका कारण संक्रमण नियन्त्रणमा चुनौती देखिएको उनको भनाइ छ। “समयमै औषधि सेवन गर्ने बिरामी निको भएर सामान्य जीवनमा फर्किएका छन्, तर हेलचेक्र्याइँ गर्नेहरूले ज्यान गुमाएका छन्,” उनले भने।
उनका अनुसार गाउँ क्षेत्रमा एक संक्रमितले १० जनासम्म र बजार क्षेत्रमा २५ जनासम्मलाई संक्रमण सार्न सक्ने सम्भावना भएकाले समयमै उपचार अत्यन्त आवश्यक छ।
हाल जिल्लामा सबैभन्दा बढी संक्रमित बडिगाड गाउँपालिकामा रहेका छन्, जहाँ ३८ जना संक्रमित छन्। ढोरपाटन नगरपालिकामा ३२, गलकोट नगरपालिकामा २७, बागलुङ नगरपालिकामा १५, निसीखोला गाउँपालिकामा १३, काठेखोला र जैमिनी नगरपालिकामा ५/५ जना, ताराखोला र तमानखोला गाउँपालिकामा ४/४ जना तथा बरेङ गाउँपालिकामा १ जना संक्रमित रहेका छन्।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माका अनुसार गलकोट, बागलुङ नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिकालाई क्षयरोगमुक्त बनाउने लक्ष्यसहित विशेष अभियान सञ्चालन भइरहेको छ। संक्रमण बढी देखिएका क्षेत्रमा खोजपड्ताल अभियानलाई थप तीव्र बनाइएको उनले बताए।
स्वास्थ्यकर्मीहरूले नागरिकलाई समयमै परीक्षण र उपचार गराउन आग्रह गर्दै सचेतना अभिवृद्धि अपरिहार्य रहेको बताएका छन्।
बागलुङमा क्षयरोगबाट मृत्यु दर बढ्दो, ९ महिनामा १८ जनाको मूत्यु


