बाग्लुङ, गलकोट — (२०८२ चैत्र १३ गते, शुक्रवार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकार गठनको उपलक्ष्यमा गलकोट नगरपालिका वडा नं. १० पाण्डबखानीलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित एक अभियान घोषणा गरिएको छ।
“हाम्रो गाउँ बनाउने हामी आफैं हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै स्थानीय कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित १,००० (एक हजार) सुन्तलाका बिरुवा निःशुल्क वितरण गरिने घोषणा गरिएको हो। उक्त पहल रास्वपा जिल्ला कार्यसमिति सदस्य टेक पुन मगरले गरेका हुन्।
उनले गाउँको विकास सडक, शिक्षा, खानेपानी, कृषि, पर्यटन, हाइड्रो र रोजगारीसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यसको आधार स्थानीयको सोच, श्रम र एकता नै भएको बताए।
“हामी जागे गाउँ जाग्छ, गाउँ जागे पालिका जाग्छ, पालिका जागे जिल्ला र अन्ततः देश नै जाग्नेछ,” उनले भने, “अरूलाई दोष दिनुभन्दा आफैं जिम्मेवारी लिएर गाउँ समृद्ध बनाउन सबैले हातेमालो गर्नुपर्छ।”
यस अभियानमा सुन्तला, कागती, किबी तथा स्याउका बिरुवा सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई पनि सहकार्यका लागि आह्वान गरिएको छ। इच्छुकले ९८०१०६५५१८, ९८५६०६५५१८ र ९८५१०६५५१८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
पाण्डबखानीलाई आत्मनिर्भर बनाउने अभियान सुरु: १,००० सुन्तलाका बिरुवा निःशुल्क वितरण घोषणा


