बागलुङ — गल्कोट नगरपालिका ०४ अन्तर्गत खरूवा माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई “न्यानोपनका रङहरू” कार्यक्रममार्फत न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। साथै प्रत्येक विद्यार्थीलाई १/१ सेट न्यानो कपडा बितरण गरिएको हो।
उक्त सहयोग प्रदान गरेकोमा रोट्र्याक क्लब अफ गल्कोट, रोट्र्याक क्लब अफ पोखरा तथा रोट्र्याक क्लब अफ नक्साल, काठमाडौंप्रति विद्यालय परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको थियो। कार्यक्रमका लागि विद्यालयलाई छनोट गरेकोमा रोट्र्याक क्लब अफ गल्कोटप्रति विशेष धन्यवाद ज्ञापन गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा रोट्र्याक क्लब अफ गल्कोटका अध्यक्ष नवीन सुवेदीले विद्यार्थीहरूको शैक्षिक तथा शारीरिक विकासमा यस्ता सहयोगात्मक कार्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने बताउँदै आगामी दिनमा समेत यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने बताउनु भएको थियो। कार्यक्रममा रोट्र्याक क्लब अफ पोखराका प्रबिन पौडेल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम प्रसाद न्यौपानेले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन सन्दिप थापाले गर्नुभएको थियो। साथै, विद्यालयले सहयोगी संस्थाहरूप्रति कदरपत्र प्रदान गर्दै सम्मान समेत गरेको थियो।


