लोकप्रिय गायक विष्णु खत्रीले यस वर्षको दशैं विशेष गीत सार्वजनिक गरेका छन्। विगत दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय खत्रीले करिब एक दशकदेखि हरेक वर्ष दशैंलाई लक्षित गरेर नयाँ गीत ल्याउँदै आएका छन्। उनका चर्चित गीतहरूमध्ये “सुनको जलप” विशेष चर्चामा आएको थियो।
यसपटकको गीतमा शब्द र लय स्वयं खत्रीकै सिर्जना रहेको छ भने गायनमा उनलाई गायिका देवी घर्तिले साथ दिएकी छन्। गीतमा विदेशमा रहेका नेपालीको पीडा, दशैंमा घर आउन नपाउने बाध्यता र त्यससँग जोडिएका भावनात्मक कथाहरूलाई समेटिएको छ।
गीतको अडियोसँगै भिडियो पनि सार्वजनिक गरिएको छ। भिडियोमा कलाकार सारिका केसी र ओबी रायमाझीले अभिनय गरेका छन् भने निर्देशन निशान बाँनीयले गरेका हुन्। गीत सार्वजनिक भएसँगै यस वर्षको दशैंमा पनि खत्रीको गीतले विशेष माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।


