काठमाडौं । देशका केही स्थानमा आज (कात्तिक १६) हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् गोविन्द झाले देशमा अहिले मुख्यतः पश्चिमी वायुको प्रभाव रहेको बताए। उनका अनुसार उक्त प्रभावकै कारण ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना पनि रहेको छ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव सकिइसकेको झले जानकारी दिए। “मोन्थाको प्रभाव हिजै सकियो, अहिले पश्चिमी वायुकै प्रभाव हो,” उनले भने।
त्यस्तै, अरब सागरमा बनेको न्यूनचापीय प्रणालीका कारण समेत पछिल्ला दिनमा नेपालमा वर्षा र हिमपात भएको थियो। तर, अहिले त्यो प्रणाली पनि निकै कमजोर भइसकेको झले बताए। “त्यसको ठूलो प्रभाव छैन, तर कतैकतै आर्द्रता आएको हुनसक्छ,” उनले स्पष्ट पारे।
आइतबार बिहान सिन्धुपाल्चोक, कास्की, पर्वत, नुवाकोट र संखुवासभालगायत जिल्लामा हल्का पानी परेको छ। राति पनि ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


