Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

“परदेशीको तकियाभित्र लुकेको आँसु” ल्युजर शर्मा

Advertisement

Advertisement

परदेशको यो शहर कहिल्यै निदाउँदैन,
तर म भने हरेक रात थाकेर पनि निदाउन सक्दिनँ—किनकि शरीरभन्दा पहिले मन थाकिसकेको हुन्छ।

बिहान आँखा खुल्ने बित्तिकै एउटै सोच आउँछ—आज पनि काम छ, आज पनि जिम्मेवारी छ।
आराम भन्ने शब्द मेरो जीवनबाट धेरै टाढा छुटिसकेको छ।
दिनभर अरूको देशमा पसिना बगाउँदा कहिलेकाहीँ लाग्छ—म आफ्नो जीवन होइन, केवल ऋण, जिम्मेवारी र परिवारको सपना बोकिरहेको एउटा थाकेको मान्छे हुँ।

नेपाल छोडेको त्यो दिन अझै पनि मुटुमा काँडा जस्तै गढेर बसेको छ।

म घरबाट बिदा लिईरहदा अामा  रोइरहनुभएको थियो, तर आँखाको आँसु लुकाएर “बाबु, आफ्नो ख्याल राख” भन्नुभएको थियो।
बुबाको आवाज काँपिरहेको थियो, तर उहाँले आफूलाई सम्हालेर बलियो देखाउन खोज्नुभएको थियो।
श्रीमतीको अनुहारमा मुस्कान थियो, तर त्यो मुस्कानभित्र हजारौं डर र पिडाहरु लुकेको खुलस्यत देखिन्थ्यो ।
र मेरी सानी छोरी…
उ त केवल मेरो औंला समातेर हाँसिरहेकी थिई।
त्यो एउटा सानो हाँसो आज पनि मेरो कमजोरी बनिरहेको छ याद उस्कै छ ।

परदेश आउँदा मैले देखेका लाखौ सपना तुहियका छन् ।
घरको ऋण तिर्ने, आमाबुबालाई सुख दिने, छोरीको भविष्य उज्यालो बनाउने।
सोचेको थिएँ केही वर्षको संघर्ष हो, पछि सबै ठीक हुन्छ।

तर यहाँ आएपछि थाहा भयो—
परदेश केवल पैसा कमाउने ठाउँ होइन,
यो त आफूलाई बिस्तारै हराउँदै जाने ठाउँ पो रहेछ।

दिनभरको कामले शरीर गल्छ,
तर मनको थकान झन् गहिरो हुन्छ।
कहिलेकाहीँ हातमा चोट लाग्छ, तर त्योभन्दा बढी मनमा लागेको चोट कसैले देख्दैन।
किनकि परदेशीको पीडा सधैं मौन हुनेरहेछ ।

नेपालबाट आएको त्यो ऋण अझै पनि मेरो छायाँ जस्तै पछ्याइरहेको छ।
त्यही ऋणले मलाई थाक्दा पनि उठ्न बाध्य बनाउँछ,
जति थाके पनि काममा जान बाध्य बनाउँछ,
भत्किए पनि फेरि हाँस्न बाध्य बनाउँछ।

राति कोठामा फर्केर जब मोबाइल खोल्छु,
छोरीको फोटो हेर्छु।
उसले भिडियो कलमा सोधेको एउटा प्रश्न कानमा गुञ्जिरहन्छ—
“बुबा, कहिले आउँछौ?” साईकल ल्याईदिनु ल ।

म हाँस्ने प्रयास गर्छु, तर त्यो हाँसोभित्र आँसु लुकेको हुन्छ। उ अबोध बालकलाई के थाहा ।
म भन्छु—
“छिट्टै आउँछु बाबु…”
तर मेरो मन जान्दछ—त्यो “छिट्टै” सायद वर्षौं टाढा छ।

श्रीमतीको आवाज सुन्दा मन अझै कमजोर हुन्छ।
उनी कहिल्यै गुनासो गर्दिनन्, तर उनको थकान म महसुस गर्छु।
घरको सम्पूर्ण बोझ एक्लै बोकिरहेकी उनीलाई देख्दा लाग्छ—
म परदेशमा मात्र होइन, घरभित्र पनि टाढा छु।

कहिलेकाहीँ मन यति भारी हुन्छ कि सबै छोडेर बिलिन हुन मन  लाग्छ। तर फेरि सम्झन्छु ।।
आमाको काखमा टाउको राखेर रोइदिउँ,
बुबासँग पुराना दिन सम्झिउँ,
छोरीलाई अँगालोमा राखेर कहिल्यै नछोडूँ जस्तो लाग्छ।

तर फेरि वास्तविकता अगाडि आउँछ—
जिम्मेवारी, ऋण, र भविष्य।

परदेशले मलाई एउटा कुरा राम्रोसँग सिकाएको छ—
मान्छे बाहिरबाट जति बलियो देखिए पनि, भित्रभित्रै कति टुटिरहेको हुन्छ भन्ने कुरा। म महसुस गरिरहेको छु ।

चाडपर्वहरू आउँछन्, तर म काममै हुन्छु।
गाउँमा दीप जल्छ, यहाँ मेरो मन निभिरहेको हुन्छ।
अरू रमाइरहेका हुन्छन्, म सम्झनामा हराइरहेको हुन्छु।

कहिलेकाहीँ ऐनामा आफूलाई हेर्दा लाग्छ—
यो अनुहार मेरो हो, तर यो मुस्कान मेरो होइन।

अब म केवल मान्छे मात्र होइन—
परिवारको आशा  भरोसा बोकेको एउटा जिम्मेवारी बनेको छु।

तर यति सबै पीडा, थकान र एक्लोपनको बीचमा पनि म हार मान्न सक्दिनँ।
किनकि मेरो आँसुमा मेरो परिवारको भविष्य मिसिएको छ।

सायद त्यसैले परदेशीहरू कहिले थाक्दैनन् होला ।
किनकि उनीहरूलाई बाँच्न होइन—बचाउनुपर्ने धेरै जीवनहरू छन्।

 

✍🏻ल्युजर शर्मा

 

 

By छबिलाल शर्मा ल्युजर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.