Niluwa Online Khabar

२०८३ जेष्ठ १४ गते
२०८३ जेष्ठ १४ गते

पाण्डवखानीमा सती घाँटुको विधिवत् विसर्जन

Advertisement

Advertisement

सती घाँटुको विधिवत् विसर्जन पाण्डवखानीमा
सुरेश छन्त्याल
ढुंगाले छाइएका मौलिक घरहरू, मगर संस्कृति र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाण्डवखानी यतिबेला पुनः आफ्नो ऐतिहासिक तथा सांस्कृतिक पहिचानका कारण चर्चामा आएको छ। बागलुङ सदरमुकामबाट मध्यपहाडी लोकमार्ग हुँदै करिब पाँचदेखि छ घण्टाको यात्रापछि पुगिने यो गाउँ कला, संस्कृति र परम्पराको जीवित संग्रहालयका रूपमा परिचित छ।

यहाँको सबैभन्दा ठूलो सांस्कृतिक पहिचान भनेको ‘सती घाँटु’ हो, जसलाई नेपालकै सबैभन्दा कठिन, गुरुमुखी तथा तान्त्रिक मानिने नृत्य-अनुष्ठानका रूपमा लिइन्छ। वैशाखे पूर्णिमाको अवसरमा विशेष रूपमा प्रस्तुत गरिने यो नृत्य हेर्न आन्तरिक तथा बाह्य दर्शकहरू पुग्ने गरेका छन्।

स्थानीयका अनुसार पाण्डवखानीमा सती घाँटुको सुरुआत वि.सं. १८५० सालदेखि भएको मानिन्छ। घाँटु नाचका युवा संयोजक गिरी प्रसाद थापाका अनुसार यो नृत्य सती प्रथामा आधारित गीतिनाटक हो, जसमा श्रीमानको मृत्युपछि पत्नीले भोग्ने पीडा, समर्पण र त्यागलाई भावनात्मक शैलीमा प्रस्तुत गरिन्छ।

घाँटुको औपचारिक ‘फुक्ने’ कार्य माघ महिनामै गरिए पनि वास्तविक नृत्य वैशाख कृष्ण औँसीदेखि सुरु हुन्छ। जेठ महिनाको अन्तिम सातासम्म सञ्चालन हुने यो परम्परा त्यसपछि पुनः माघसम्म स्थगित रहने प्रचलन छ।

सती घाँटुको कथावस्तु तत्कालीन पर्वते राजा परशुराम र रानीको जीवनसँग जोडिएको छ। युद्धमा राजाको मृत्यु भएपछि रानीहरूले गर्ने विलाप, कारुणिक गीत र नृत्यमार्फत प्रस्तुत गरिने यो अनुष्ठान अत्यन्त मार्मिक मानिन्छ। नृत्यका क्रममा घाँटुसेरीहरू गीतको लयमा लठ्ठिने, आँखा बन्द गर्ने, ढल्ने र पुनः गीतकै माध्यमबाट उठाइने दृश्यले दर्शकलाई भावविह्वल बनाउने गर्दछ। स्थानीय समुदायले यसलाई अदृश्य शक्ति र देवी अवतरणसँग जोडेर हेर्ने विश्वास राख्छ।

सती घाँटु विभिन्न खण्डमा विभाजित हुन्छ। ‘अइरा’ खण्डमा रोपाइँ तथा ढ्याङ्ग्रो नाच प्रस्तुत गरिन्छ भने ‘सती’ खण्डमा घाँटुसेरीहरू मुर्छित हुने दृश्य मुख्य आकर्षणका रूपमा रहने गर्दछ। कथाअनुसार भगवान शिव जोगीको भेषमा आएर राजासँग विवाद गरेपछि रानी मुर्छित हुने प्रसंग नृत्यमार्फत प्रस्तुत गरिन्छ।

यद्यपि घाँटुको लिखित इतिहास भेटिँदैन, स्थानीय अगुवाहरूका अनुसार अन्य क्षेत्रबाट खानीमा काम गर्न आएका मजदुरमार्फत यो परम्परा सुरु भएको विश्वास गरिन्छ। पाण्डवखानीसँगै रिघा, सिसाखानी लगायत मगर समुदायको बसोबास रहेका अन्य क्षेत्रमा पनि सती घाँटुको प्रचलन रहेको पाइन्छ।

वडा अध्यक्ष भक्तबहादुर काउचाका अनुसार वडाले संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्दै सती घाँटुको निरन्तरताका लागि विशेष पहल गरिरहेको छ। उहाँले गीत र मन्त्रमार्फत घाँटुसेरीहरू अचेत हुने र पुनः सचेत बनाइने प्रक्रियालाई स्थानीय धार्मिक विश्वाससँग जोडिएको बताउनुभयो।

आधुनिकताको तीव्र प्रभावबीच पनि पाण्डवखानीले आफ्नो मौलिक संस्कृति जोगाइराख्नु समुदायको बलियो सांस्कृतिक चेत र सामूहिक एकताको उदाहरण बनेको छ। गाउँलेहरू नयाँ पुस्तालाई समेत यो परम्परा सिकाउँदै संरक्षणमा जुटेका छन्।

यस वर्ष मलमासका कारण तिथि र समय तालिकामा केही परिवर्तन भए पनि सती घाँटुको मूल मर्म, श्रद्धा र सांस्कृतिक आत्मा भने अक्षुण्ण रहेको स्थानीयको भनाइ छ। बागलुङको गलकोटस्थित पाण्डवखानीमा परम्परागत सती घाँटुको विधिवत् विसर्जन हुनु आफैँमा एउटा ठूलो सांस्कृतिक तथा धार्मिक उपलब्धिका रूपमा हेरिएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.