Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

ताराखोलामा इटालियन स्याउको सफल खेती, किसानमा उत्साह

Advertisement

Advertisement

बागलुङको पश्चिमी क्षेत्र ताराखोला गाउँपालिका–५, हिलेगाउँमा पहिलोपटक इटालियन प्रजातिका स्याउको सफल खेती भएको छ। वडा अध्यक्ष समेत रहेका स्थानीय किसान मनबहादुर रोकाले दुई वर्षअघि परीक्षणका रूपमा ल्याएका स्याउका बिरुवाले यस वर्ष लटरम्म फल दिएका छन्।

पोखरास्थित बागबानी केन्द्रबाट रोकााले गाला, फुजी, रोटा र गोल्डेन गरी चार प्रजातिका ६० बिरुवा ल्याएर आफ्नै बारीमा रोपेका थिए। समुद्री सतहबाट २,४०० मिटर उचाइमा रहेको हिलेगाउँमा मकै र कोदो खेती हुने पाखोबारीमा पहिलोपटक स्याउ फलेको हो।

“बोटमा फलको रङ र आकार मुस्ताङी स्याउजस्तै छ, उत्पादन पनि राम्रै हुने देखिन्छ,” रोकााले खुशी व्यक्त गर्दै भने। यसअघि जुम्लाबाट ल्याएको डेलिसियस प्रजातिले अपेक्षाकृत राम्रो फल नदिएपछि प्राविधिक सल्लाहअनुसार इटालियन जात रोजिएको थियो।

गाउँपालिकाको कृषि शाखा संयोजक सन्जिव थापाका अनुसार अहिले स्याउ अलि अमिलो भए पनि असोजमा पाक्दा मीठो स्वाद आउनेछ। “यो सफलताले ताराखोलाका उच्च क्षेत्रमा व्यावसायिक स्याउ खेतीको सम्भावना प्रमाणित गरेको छ,” उनले बताए।

स्याउ फलेको देखेर आसपासका किसानले पनि चासो देखाउन थालेका छन्। रोकाले ताराखोलाकै चम्पारी गाउँमा परीक्षणका रूपमा रोपेको स्याउले पनि यस वर्ष फल दिएको छ। अहिले उनका बारीमा अवलोकन गर्न आउनेको भीड लागेको छ।

हाल बागलुङमा ढोरपाटनमा व्यावसायिक स्याउ खेती भइरहेको छ भने निसीखोला गाउँपालिकाको अर्नाकोट, बागलुङ नगरपालिका–सिगाना र भकुण्डेसहितका क्षेत्रमा पनि परीक्षण सफल भएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.