बागलुङ – युरोप जाने सपना देखेर म्याग्दीका २६ वर्षीय युवाले दलाललाई १५ लाख रुपैयाँ बुझाएको वर्ष दिनभन्दा बढी भइसकेको छ । तर उनले विदेशको बाटो पाउनु त परको कुरा, पैसा फिर्ता माग्दा धम्की मात्रै पाउँदै आएका छन् । युएईमा बसेका ती दलाल आप्रवासी स्रोत केन्द्र बागलुङको पहलमा एक साताअघि नेपाल फर्किएका बेला प्रहरी नियन्त्रणमा परेका हुन् ।
पीडित युवा पाँच महिनाअघि आप्रवासी स्रोत केन्द्र बागलुङमा पुगेर गुनासो दर्ता गरेका थिए । विदेश जान ऋण लिएर साहुलाई रकम बुझाए पनि ठगीमा परेकाले घर फर्किन लाज लाग्ने अवस्था भएको उनले बताए । आफ्नो पहिचान खुलाउन नचाहने ती युवा अहिले पनि मानसिक तनावमा छन् ।
आप्रवासी स्रोत केन्द्रका तथ्याङ्कअनुसार आर्थिक वर्ष ०८१/८२ मा मात्र बागलुङका ७८ जना विभिन्न दलालबाट ठगिएका छन् । उनीहरूलाई रोमानिया, क्रोएसिया, माल्टा लगायत युरोपेली मुलुकदेखि अमेरिका र खाडीका साउदी, कतार, दुबईजस्ता मुलुक पुर्याइदिने प्रलोभन देखाइएको थियो ।
स्रोत केन्द्र प्रमुख मिन उपाध्यायका अनुसार ठगिनेहरूले दलाललाई २० हजारदेखि ५७ लाख रुपैयाँसम्म बुझाएका छन् । केन्द्रले गत आर्थिक वर्षमा मात्र ५८ लाख ८० हजार ५ सय रुपैयाँ पीडितलाई फिर्ता गराउन सफल भएको छ ।
सबैभन्दा बढी बागलुङ नगरपालिकाका ३२ जना ठगीमा परेका छन् । त्यसपछि जैमिनी नगरपालिकाका १३, गल्कोट नगरपालिकाका ९, काठेखोला गाउँपालिकाका ७ जना ठगीमा परेका छन् । ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिकाका ३/३ जना, निसीखोला, बडिगाड र बरेङ गाउँपालिकाका १/१ जना ठगीमा परेको तथ्याङ्क छ । तमानखोला गाउँपालिकाबाट भने अहिलेसम्म उजुरी परेको छैन ।
गत वर्ष आप्रवासी स्रोत केन्द्रमा १ सय ३८ वटा उजुरी दर्ता भएका थिए । जसमा सबैभन्दा धेरै ठगीसम्बन्धी उजुरी परेको छ । अरू उजुरीमा विदेश पुगेपनि सम्झौता अनुसारको काम र तलब नपाएको, स्वास्थ्य समस्या, विदेशमै मृत्यु, राहदानी जफत गरी फर्कन नदिएकोजस्ता मुद्दा रहेका छन् ।
बागलुङ जिल्ला प्रशासन कार्यालय परिसरमै रहेको आप्रवासी स्रोत केन्द्रले राहदानी बनाउन आउनेलाई अनिवार्य वैदेशिक रोजगारसम्बन्धी परामर्श दिन्छ । गत आर्थिक वर्षमा मात्र बागलुङ र बुर्तिवाङ सेवा केन्द्रमार्फत ११ हजार १ सय ५५ जनाले परामर्श लिएका छन् ।
स्रोत केन्द्रका सूचना परामर्शदाता गंगा शर्मा रिजालका अनुसार धेरैजसो पीडित नबुझेर नभई शिक्षित र आर्थिक अवस्था राम्रो भएकै व्यक्तिहरू दलालको जालोमा परेका छन् । वैदेशिक रोजगारी जाने उत्साह र ‘छिट्टै कमाउने’ मानसिकताले गर्दा ठगीको जोखिम अझै कम नभएको उनले बताए ।
निष्कर्ष : वैदेशिक रोजगारी जाने युवामा चेतना र सजगता बढे पनि ठगीको शिकार हुने क्रम नरोकिएको आप्रवासी स्रोत केन्द्रको तथ्याङ्कले देखाउँछ ।


