
गजल
नबुझ्दा बुझ्न कोही बल लाग्न सक्छ,
बुझे सायद उही पागल लाग्न सक्छ।
कुनै पत्थर निकै चम्किन्छन् हीराझैँ,
कसैलाई हीरा कमसल लाग्न सक्छ।
भरोसा तोड्नेले के सोच्थे, के बुझ्थे,
कसैको जिन्दगी बादल लाग्न सक्छ।
जहाँ मनले चिनेका साथी हुँदैनन् ,
अरू होस् जोसुकै एकल लाग्न सक्छ।
यहाँ सोच्दै नसोचेको हुन्छ धेरै,
सुकेको बोटमा पनि फल लाग्न सक्छ।
✍️हिमाल सापकोटा
जैमिनी बागलुङ


