गलकोट । पेशागत शिक्षक संघ–संगठन गलकोटको आयोजनामा दोस्रो नगरस्तरीय भलिबल तथा विविध खेलकुद एवं शैक्षिक कार्यक्रम–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर जिसीले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई सह–पाठ्यक्रम गतिविधिबाट अझ प्रभावकारी बन्ने बताउनुभयो। यस्ता खेलकुद तथा शैक्षिक कार्यक्रमले शिक्षकबीच आत्मीयता बढाउनुका साथै सिकाइ प्रक्रियामा सकारात्मक ऊर्जा थप्ने उहाँको भनाइ थियो। उहाँले शिक्षकको क्षमता विकास र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिका लागि नगरपालिकाले आवश्यक स्रोत र लगानीलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पार्नुभयो।
कार्यक्रमअन्तर्गत सम्पन्न सटपुट प्रतियोगितामा महिला शिक्षकतर्फ न्यू लाईफ बोर्डिङ स्कुलकी कुमारी पुन प्रथम, गलकोट माध्यमिक विद्यालयकी निर्मला राना द्वितीय र जय सन्तोषी माँ आधारभूत विद्यालयकी अन्जु केसी तृतीय हुनुभयो। पुरुष शिक्षकतर्फ महेन्द्र माध्यमिक विद्यालयका भरत कार्की प्रथम, गलकोट माध्यमिक विद्यालयका भोजबहादुर कुँवर द्वितीय र पृथ्वी माध्यमिक विद्यालयका गणेशमान खड्का तृतीय हुनुभयो।
त्यस्तै, डिजिटल हाजिरीजवाफ प्रतियोगितामा शिव माध्यमिक विद्यालय प्रथम, पृथ्वी माध्यमिक विद्यालय द्वितीय र पार्वती माध्यमिक विद्यालय तृतीय भएका छन्।
वक्तृत्वकला प्रतियोगितामा खरुवा माध्यमिक विद्यालयकी सविता लामिछाने प्रथम, पृथ्वी माध्यमिक विद्यालयका गणेशमान खड्का द्वितीय र रत्लक्ष्मी माध्यमिक विद्यालयका नारायण पौडेल तृतीय हुनुभयो।
रस्साकस्सी प्रतियोगितामा गलकोट नगरपालिका वडा नम्बर ६ प्रथम र वडा नम्बर १ द्वितीय भएका छन्।
कार्यक्रममा गलकोट नगरपालिकाका शिक्षा अधिकृत शिव खड्का, वडा नम्बर ११ का वडा अध्यक्ष डम्मर बहादुर श्रीस तथा जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजेन्द्र बुढाथोकीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम संयोजक नवराज गौतमको अध्यक्षता, सह–संयोजक सोमलाल सापकोटाको स्वागत मन्तव्य र सचिव रामबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको हो।


