थम्मन थापा सन्देश
पोखरा
नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर्स पोखराले पत्रकारहरूका लागि आयोजना गरेको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ।
माघ १२ गतेदेखि पश्चिम पृतना हेडक्वाटर्स पोखरामा सञ्चालन भएको उक्त अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेशका २० जना पत्रकारहरूको सहभागिता रहेको थियो।
तालिम समापन कार्यक्रममा बोल्दै पृतनापति उपरथी भोलानाथ थापाले नेपाली सेनाले राष्ट्रिय सुरक्षा र सीमाको रक्षासँगै विकास निर्माण, वातावरण तथा प्रकृति संरक्षण, विपद् व्यवस्थापन, उद्धार कार्य, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताए।
उपरथी थापाले भने, “नेपाली सेनाले केवल सुरक्षा निकायको भूमिकामात्र निर्वाह गरेको छैन, राष्ट्रिय एकता, शान्ति स्थापना, आपसी सद्भाव र सह–अस्तित्व प्रवर्द्धनमा पनि अग्रणी भूमिका खेलेको छ।”
अभिमुखीकरण कार्यक्रमले नेपाली सेनाको संगठनात्मक स्वरूप, जिम्मेवारी, राष्ट्रिय भूमिका तथा सेना–नागरिक र सेना–मिडिया सम्बन्धलाई अझ सुदृढ र सन्तुलित बनाउने विश्वास व्यक्त गर्दै उनले पत्रकारिता र सेनाबीचको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरे।
चार दिनसम्म सञ्चालित कार्यक्रममा नेपाली सेनाको पृष्ठभूमि र गौरवशाली इतिहास, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका, सेनाको तैनाथी, शान्ति स्थापना कार्य, विकास निर्माणमा योगदान, अभिलेखीकरण प्रणाली, विपद् प्रतिकार्य, जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन तथा स्थानीय समुदायसँगको सहकार्य लगायत विषयमा पत्रकारहरूलाई अभिमुखीकरण गराइएको थियो।
कार्यक्रमको अवसरमा नेपाली सेनाले सञ्चालन गर्ने सामाजिक उत्तरदायित्वका गतिविधिहरू जनसमक्ष पुर्याउन सञ्चार माध्यमले खेलेको भूमिकाको मूल्याङ्कन गर्दै विभिन्न एफएम रेडियोलाई सम्मान गरिएको थियो। साथै, विपद् प्रतिकार्यसम्बन्धी अभ्यास (डेमो) प्रस्तुत गरिएको थियो भने नेपाली सेना र मिडियाकर्मीबीच मैत्रीपूर्ण भलिबल खेल तथा टाइगर टप हिलसम्म हाइकिङ कार्यक्रम समेत सम्पन्न गरिएको थियो।


