
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशका सुख्खाग्रस्त क्षेत्रहरूको अवलोकन गरेका छन्। शुक्रबार बिहान हेलिकप्टरमार्फत उनी मधेसका विभिन्न जिल्लामा परेको वर्षाको कमी र त्यसबाट प्रभावित धान रोपाइँको अवस्थाबारे जानकारी लिन त्यसतर्फ प्रस्थान गरेका हुन्।
यसअघि नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले साउन ७ गते मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। लामो समयदेखि वर्षा नहुँदा मधेसका धेरैजसो क्षेत्रमा धान खेती प्रभावित भएको छ।
प्रधानमन्त्री ओलीले यस विषयमा सम्बन्धित मन्त्री, प्रदेश सरकारका पदाधिकारी र प्राविधिकसँग छलफल गरेर सम्भावित समाधानको खोजी गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले आज महोत्तरी र बाराका सार्वजनिक कार्यक्रमहरूमा पनि सहभागी हुने कार्यतालिका रहेको छ। क्षेत्रको स्थलगत निरीक्षणपछि उनले स्थानीय किसान, जनप्रतिनिधि र सरकारी अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ।
यस अवलोकन भ्रमणलाई सरकारको कृषि संकट समाधानका प्रयासका रूपमा हेरिएको छ। यस्तै, विपद् व्यवस्थापनमा केन्द्र र प्रदेशबीच समन्वय अझै सुदृढ गर्नुपर्ने आवश्यकता देखिएको छ।
सुख्खा ग्रस्त मधेस प्रदेशमा वर्षाको अभावसँगै धान रोपाइँमा आएको समस्याले देशको खाद्य सुरक्षामै असर पर्ने खतरा देखिएको छ। प्रधानमन्त्रीको यो सक्रियता समस्या समाधानतर्फको सकारात्मक कदम मानिएको छ।


