स्थायी लेखा नम्बर (प्यान) कार्ड अब देशभरका स्थानीय तहबाट नै प्रदान गरिने भएको छ। आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्डसहितका करसम्बन्धी सेवा स्थानीय तहबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिएको हो।
यसअघि प्यान कार्डका लागि करदाता सेवा कार्यालयमा मात्रै जानुपर्ने बाध्यता थियो। तर हाल ती कार्यालयहरू खारेज गरिएपछि उक्त सेवा स्थानीय तहमार्फत सञ्चालन गर्न तयारी गरिएको विभागले स्पष्ट पारेको छ।
‘स्थानीय तहबाट सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएकाले तत्कालका लागि सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
यससँगै कर भुक्तानी, कर चुक्ता प्रमाणपत्रसहितका महत्वपूर्ण सेवाहरू भने अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था जारी रहने विभागले जनाएको छ।
विभागका अनुसार करदातालाई नजिक र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यअनुसार कार्यालय संरचना तथा सेवा वितरण प्रक्रियामा नयाँ सुधार लागू गरिएको हो।


