
बागलुङ/ पछिल्लो २४ वर्षदेखि सञ्चालनमा रहेको चिप्लेटी बसपार्कलाई सोमबारदेखि औपचारिक रूपमा खाली गरेर उपल्लाचौरस्थित दाबगरामा स्थानान्तरण गरिएको छ।
नगरप्रमुख बसन्तकुमार श्रेष्ठका अनुसार पाँच वर्षअघि निर्माण सम्पन्न भएको दाबगरा बसपार्कलाई गत सातादेखि २५ वर्षका लागि ठेक्कामा लगाइएपछि सोमबारदेखि औपचारिक रूपमा बस छुटाउने कार्य सुरु गरिएको हो।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार अबदेखि बस दाबगरा बसपार्कबाट श्रीनगरटोल, जिपपार्क, बाघको शालिक हुँदै समीक्षालय चोक, ट्राफिक चोकमार्ग हुँदै छुट्नेछन्। ठूला सवारी साधनका लागि यो मार्गलाई एकतर्फी बनाइएको छ। चिप्लेटीमा तत्कालका लागि सार्वजनिक मञ्च र जिपपार्क सञ्चालन गरिने जानकारी पनि नगरप्रमुख श्रेष्ठले दिएका छन्।
विभिन्न स्थानबाट बागलुङमा आउने गाडी भने मध्यपहाडी लोकमार्गको बाटो हुँदै बसपार्कतर्फ जानेछन्। खाली गरिएको चिप्लेटी बसपार्क क्षेत्रलाई माइक्रोबस र विद्युतीय गाडीको पार्किङ बनाउन स्थानीयवासीले माग गरेका छन्। वडा नं. ३ का अध्यक्ष शनि केसी लक्ष्मणले बसपार्कलाई खाली गर्ने मात्र नभई बहुउपयोगी बनाउन नगरपालिकाले पहल गरिरहेको बताए।
बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित दाबगरा बसपार्क १७ रोपनी क्षेत्रफलमा फैलिएको छ। टर्मिनल भवनसहित यसमा ३ वटा टिकट काउन्टर, १७ वटा सटर, ३ वटा कर्मचारी कक्ष, १८ वटा शौचालय (महिला ६, पुरुष १२), मोटर ग्यारेज, खानेपानीको ट्यांकी र ईभी चार्जिङ स्टेशन सुविधा रहेका छन्।
गत सातामात्र बागलुङ नगरपालिकाले ‘आरबी कन्स्ट्रक्सन प्रालि पोखरा’सँग २५ वर्षका लागि सम्झौता गरेको हो। सम्झौताअनुसार कम्पनीले हरेक वर्ष नगरपालिकालाई १६ लाख २५ हजार र मुअक २ लाख ११ हजार तिर्नेछ।


