
इनरुवा, सुनसरी । सुनसरी जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण तीव्र रुपमा फैलिँदै गएको छ। जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहका पशुचौपायामा व्यापक सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले जनाएको छ।
केन्द्रका प्रमुख डा. मनोज मेहताका अनुसार इनरुवा, धरान, इटहरी, दुहबी, बराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको हो।
हालसम्म जिल्लाभर १,५१६ वटा पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ। दुहबी नगरपालिकामा सबैभन्दा धेरै २७६ वटा पशु प्रभावित भएका छन् भने धरान उपमहानगरपालिकामा सबैभन्दा कम १५ वटा मात्रै संक्रमित भेटिएका छन्।
लम्पी स्किनका कारण हालसम्म ५३ वटा पशुचौपायाको मृत्यु भइसकेको छ। तीमध्ये सबैभन्दा बढी बराहक्षेत्र नगरपालिकामा १३ वटा पशुको मृत्यु भएको हो।
सङ्क्रमण नियन्त्रणका लागि जिल्लाभर ६४ हजार ४४१ वटा पशुचौपायालाई खोप लगाइसकिएको डा. मेहताले जानकारी दिए।
निलुवा अनलाइन खबर
२०७८ साउन १०, शनिबार


