
गलकोट नगरपालिकाका विभिन्न माध्यमिक विद्यालयहरूबाट कक्षा–१२ को परीक्षा दिएका विद्यार्थीहरूको नतिजा सार्वजनिक भएको छ। शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको विवरण अनुसार, शैक्षिक सत्र २०८० मा नगरपालिकाका १३ वटा विद्यालयहरूबाट कूल ३७४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २२० जना मात्र उत्तीर्ण भएका छन्।
यो नतिजा अनुसार समग्र उत्तीर्ण दर ५९ प्रतिशत रहेको छ, जुन विगत वर्षको तुलनामा झिनो सुधार हो। कतिपय विद्यालयमा अपेक्षाकृत राम्रो नतिजा आए पनि केही विद्यालयहरूको नतिजा निकै कमजोर देखिएको छ।
सबैभन्दा धेरै विद्यार्थी सहभागी भएको श्री सरस्वती मावि, गलकोट–१ मा ८५ जनामध्ये ५४ जना उत्तीर्ण भएका छन्। श्री चराचौर मावि, गलकोट–१ बाट ६० जनामध्ये ३६ जना, श्री पृथ्वी मावि, गलकोट–६ बाट २५ जनामध्ये २० जना उत्तीर्ण भएका छन्।
यता श्री चौँरी मावि, गलकोट–८ मा भने ८ जना सहभागीमध्ये मात्र १ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
यसैगरी, न्यू लाइफ से. स्कुल, गलकोट–६ का दुई विद्यार्थी — श्रृष्टिमा साहनी र श्रृष्टिमा कार्की ले क्रमशः ३.९४ र ३.९५ जीपीए ल्याई उत्कृष्ट स्थानमा परेका छन्। त्यस्तै, गलकोट मावि, गलकोट–३ की अस्मिता गौतम ले ३.७२ जीपीए प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी छिन्।
शिक्षा शाखा प्रमुख शिव खड्काका अनुसार, “यस नतिजाले केही विद्यालयमा सुधार आवश्यक देखिएको छ। नगरपालिकाले गुणस्तर वृद्धि गर्न आगामी दिनहरूमा शिक्षक तालिम, अभिभावक भेला र शैक्षिक अनुगमनलाई प्राथमिकता दिनेछ।”
शैक्षिक विकाससँगै गलकोट नगरपालिकाले ‘कृषि, पर्यटन, जलस्रोत, स्थानीय सीप र पूर्वाधार: समृद्ध गलकोट निर्माणको मूल आधार’ भन्ने नारासहित शिक्षा क्षेत्रलाई अझ मजबुत बनाउने दिशामा अघि बढिरहेको जनाएको छ।


