एसिया कप क्रिकेटको उपाधि यसपटक भारतले जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै ट्रफी आफ्नो पक्षमा पारेको हो।
पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमै सबै विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो। आक्रामक शुरुवात पाए पनि मध्य तथा अन्तिमक्रमका ब्याट्सम्यानहरू टिक्न नसक्दा पाकिस्तान ठूलो स्कोर बनाउन असफल रह्यो।
१४७ रनको सामान्य लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा पाँच विकेट गुमाउँदै १५० रन जोड्यो। यस क्रममा तिलक वर्माले उल्लेखनीय प्रदर्शन गरे। उनले ५३ बलमा नटआउट ६९ रन प्रहार गर्दै टोलीलाई जितसम्म पुर्याए।
यस जितसँगै भारतले एसिया कपमा आफ्नो प्रभुत्व फेरि एकपटक स्थापित गरेको छ भने पाकिस्तानलाई उपविजेतामै सिमित रहनु परेको छ।