
नेपाली क्रिकेटले पुनः ऐतिहासिक उपलब्धि हासिल गरेको छ। नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक आईसीसी टी–२० विश्वकपका लागि छनोट भएको छ।
ओमानमा जारी टी–२० विश्वकप एसिया–इएपी छनोटमा शीर्ष तीनमा स्थान सुनिश्चित गर्दै नेपालले आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा सहभागिता पक्का गरेको हो।
नेपालले सन् २०१४ मा पहिलो पटक र सन् २०२४ मा दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो। यो पटक भने लगातार दोस्रोपटक नेपाल विश्वकप पुग्न सफल भएको हो।
सुपर सिक्स चरणमा युएई र कतारलाई पराजित गरेपछि नेपालले कतार र युएईका नतिजा अनुकूल आएपछि दुई खेल अगावै विश्वकपमा स्थान पक्का गरेको हो।
अहिले नेपाल र ओमान दुवैको समान ६ अंक छ। नेटरनरेटका आधारमा ओमान अघि रहे पनि अब हुने अन्तिम खेलमा दुबै टिममध्ये विजेता छनोट च्याम्पियन बन्नेछ।
यसअघि ओमानको मैदानमा नेपालले सफलता हात पार्न सकेको थिएन। तर यसपटक नेपालले उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई पहिलो पटक ओमानमै पराजित गर्यो।
युएईविरुद्धको १ रनको जित यस पटकको सबैभन्दा रोमाञ्चक खेल रह्यो। अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीको बलिङमा लगातार तीन विकेट लिएपछि नेपालले ऐतिहासिक जित निकाल्यो।
यो उपलब्धिले नेपाली क्रिकेटमा पुनः नयाँ आशा र उत्साह जगाएको छ।


