Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

मुक्तिनाथ क्षेत्रमा हिमपात : तीर्थयात्री र यात्रु प्रभावित, प्रशासनले सचेत रहन आग्रह

Advertisement

Advertisement

मुस्ताङ । मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर मंगलबार बिहानदेखि हिमपात भएपछि तीर्थयात्री तथा यात्रुहरू प्रभावित भएका छन् ।

हिजो साँझ मुक्तिनाथ पुगेका बसन्त गौतमका अनुसार रातभर सामान्य मौसम रहे पनि आज बिहान पाँच बजेतिर उठ्दा वरिपरि हिउँ जमिसकेको थियो । उनले भने, “हामी मन्दिरभन्दा तलको होटलमा छौं । यहाँ तीन–चार इञ्च जति हिउँ जमेको छ । बाटो चिप्लो भएकाले हिँडडुल गर्न निकै कठिन छ, मान्छे र गाडी दुवै रोकिएका छन् ।”

होटल र पसल सञ्चालकहरूले बेल्चाको सहायताले आफ्नो अगाडि जमेको हिउँ पन्छाए पनि सडकमा परेको बाक्लो हिउँ हटाउन स्काभेटर प्रयोग गर्नुपर्ने अवस्था छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै हाल हिमपात जारी रहेकाले यात्रामा ननिस्कन पदयात्रीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार मुस्ताङ–डोल्पा, थोरङ्ला पास, सरिबुङ पास, धम्पुस पिकलगायत उच्च हिमाली क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा बुधबारसम्म हिमपात र वर्षा हुने पूर्वानुमान छ । “हिमपात र वर्षाका कारण दैनिक जनजीवन, कृषि, पर्यटन र पर्वतारोहण गतिविधिमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध छ,” विभागले जनाएको छ ।

तिहार र छठ पर्वको बिदाका कारण हालसालै मुक्तिनाथलगायत हिमाली क्षेत्रमा पदयात्रु र तीर्थयात्रीको भीड बढेको थियो । तर, मौसम प्रतिकूल हुँदै गएपछि प्रशासनले अनावश्यक जोखिम नलिन र यात्रामा हेलचेक्र्याईँ नगर्न सचेत गराएको छ ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.