Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

निलुवा सुनसान : वैदेशिक रोजगारी र सुविधा अभावले निलुवा ठाँउ बञ्जंगल बन्दै

Advertisement

Advertisement

बागलुङ । गल्कोट नगरपालिका–४ चमुवास्थित निलुवा क्षेत्र दिनप्रतिदिन सुनसान बन्दै गएको छ। वैदेशिक रोजगारी, शिक्षा र आधारभूत सेवा–सुविधाको खोजीमा गाउँवासी सहर र विदेशतर्फ पलायन भएपछि निलुवाको चहलपहल हराउँदै गएको स्थानीय अम्मर बहादुर थापा सुबेदि बताएका छन्।

संघीयतापछि ग्रामीण क्षेत्रमा सडकसहितका आधारभूत संरचना पुगे पनि रोजगारी र जीवनयापनका विकल्पको अभावले निलुवा ठाउ खाली हुँदै गएको हो।
पहिले करिब ४० वटा गोठ रहने निलुवामा अहिले सुनसान गल्ली र घाँसे मैदान मात्रै बाँकी छन्।

युवा पुस्ता वैदेशिक रोजगारीमा निस्कँदा गाउँमा वृद्धवृद्धा मात्र रहने र खेतीपाती गर्ने जनशक्ति कमी भएपछि जमिन बाँझो हुने क्रम बढेको छ। “हामीजस्ता वृद्धवृद्धा मात्रै गाउँमा छौं, काम गर्ने उमेरका सबै विदेशतिर छन्,” सुबेदिले गुनासो गरे।

सयपत्री बहुउद्देश्य सहकारी संस्थाले निलुवामा चक्लाबन्दी गरी करिब दुई वर्ष काम गरे पनि उल्लेख्य उपलब्धि नआएपछि गतिविधि रोकिएको स्थानीयले बताएका छन्। त्यस्तै, सम्भावना हेरेर लगाइएका ओखरका बोटबिरुवाहरू पनि हावापानी र वातावरण उपयुक्त नहुँदा राम्ररी फस्टाउन सकेका छैनन्।

निलुवाका पुराना गोठहरू अहिले भग्नावशेषमा परिणत भएका छन्। त्यहाँ निर्माण भएको मन्दिरसमेत जनसंख्या निरन्तर घट्दै गएपछि भविष्यमा अस्तित्व संकटमा पर्न सक्ने स्थानीय निलुवा समाजको चिन्ता छ।

“तत्कालै रोजगारी सिर्जना, कृषि प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवा बलियो पार्ने काम भए मात्र निलुवालाई बञ्जंगलमा परिणत हुनबाट जोगाउन सकिन्छ,” एक स्थानीय समाजसेवी ओमकार सुबेदिले बताए।

यातायातका लागि मोटर बाटो पुगे पनि अहिले सो बाटो झाडीले ढाकिँदै गएको छ। चमुवा गाउँबाट करिब ४५ मिनेटको यात्रापछि निलुवा पुग्न सकिन्छ। हिउद को समयमा यस क्षेत्रमा विद्यालयहरूले वनभोज कार्यक्रम गर्ने परम्परा रहे पनि अहिले निलुवाको अस्तित्व नै चुनौतीमा परेको देखिन्छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.