काठमाडौँ। हिन्दु धर्मावलम्बी महिलाहरूले श्रद्धा र विश्वासका साथ बस्ने श्रीस्वस्थानी व्रत यस वर्ष आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने यो व्रत माघ १८ गते पूर्णिमाका दिन विधिवत् रूपमा समापन हुनेछ ।
तिथिका आधारमा मनाइने श्रीस्वस्थानी व्रत प्रत्येक वर्ष फरक–फरक मितिमा पर्छ । धार्मिक विश्वासअनुसार यो व्रतले सत्य मार्गमा डो¥याउने, मनोकामना पूरा गराउने तथा पारिवारिक सुख–शान्ति प्रदान गर्ने मान्यता छ । व्रत अवधिभर श्रद्धालुहरूले विशेष पूजा, संयम, शुद्ध आहार तथा श्रीस्वस्थानी कथा श्रवण गर्ने परम्परा रहिआएको छ ।
पौराणिक कथाअनुसार हिमालय पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गर्दै श्रीस्वस्थानी माताको व्रत बसेकी थिइन् । उनको तपस्या सफल भई भगवान् शिवसँग विवाह भएको उल्लेख शास्त्रहरूमा पाइन्छ । यही कारण श्रीस्वस्थानी व्रतलाई मनोकामना पूरा गराउने व्रतका रूपमा लिइन्छ ।
मार्कण्डेय पुराणको हिमवत् खण्डमा यस व्रतको महत्त्व, विधि र कथाहरू वर्णन गरिएको छ । यस व्रतले श्रद्धालुहरूलाई सत्य, धैर्य, संयम र धर्मको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिन्छ ।
परम्परागत रूपमा विवाहित महिलाहरूले पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको समृद्धिका लागि व्रत बस्ने गर्छन् भने अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्तिको कामनासहित व्रत लिने गर्दछन् । पछिल्लो समय शिक्षा, रोजगारी, स्वास्थ्य, मानसिक शान्ति र जीवन सफलताको कामनाका लागि समेत श्रीस्वस्थानी व्रत बस्नेहरूको संख्या बढ्दै गएको छ ।
श्रीस्वस्थानी व्रतलाई धार्मिक आस्थासँगै आत्मसंयम, आत्मशुद्धि र आध्यात्मिक चेतनाको अभ्यासका रूपमा समेत लिने गरिन्छ ।
माघ १८ गतेसम्म चल्ने श्रीस्वस्थानी व्रत आजदेखि सुरु


